मनसुन सक्रिय: काठमाडौंसहित २६ जिल्ला बाढीको जोखिममा

अनलाइनसमय |
१७ असार २०८३
मनसुन सक्रिय: काठमाडौंसहित २६ जिल्ला बाढीको जोखिममा

काठमाडौं, १७ असार । देशका २६ जिल्लामा आज बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ । मनसुन सक्रिय भएसँगै अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले साना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै सम्बन्धित निकायले सतर्क रहन आग्रह गरेका छन् ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरसहित सिन्धुपाल्चोक, काभ्रे, धादिङ, लमजुङ, कास्की, गोरखा, चितवन, तनहुँ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, दाङ, बाँके, बर्दिया, कैलाली, नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, कञ्चनपुर र डडेलधुराका स–साना नदी तथा खोलामा पानीको सतह धेरै मात्रामा बढ्न सक्ने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको प्रभावका कारण हिजोदेखि सुरु भएको वर्षा भोलिसम्म जारी रहने सम्भावना छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै, भोलि पनि कोशी र बागमती प्रदेशसहित अधिकांश पहाडी क्षेत्रमा केही स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

लगातारको वर्षासँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस