काठमाडौं, १६ असार । देशभर मनसुनी गतिविधि बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आगामी बिहीबारसम्म कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा अत्यधिक पानी पर्ने सम्भावना छ ।
महाशाखाले आगामी तीन दिन (असार १६, १७ र १८ गते) का लागि विशेष चेतावनी तथा परामर्श जारी गर्दै आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन र मौसमको पछिल्लो सूचनामा अध्यावधिक रहन अनुरोध गरेको छ ।
असार १६ गते (मंगलबार)
मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै, राति कोशी प्रदेशको पहाडी र तराईका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश र बागमती प्रदेशमा पनि भारी वर्षाको सम्भावना रहेको छ । यसका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
असार १७ गते (बुधबार)
यसैगरी, दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानमा वर्षा हुनुका साथै कोशी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भाग एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
असार १८ गते (बिहीबार)
पर्सी दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
त्यस्तै, राति देशका पहाडी र तराई भू–भाग धेरै स्थान मेघगर्जन÷चट्याङ्ग सहित मध्यम सम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
