काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी पुरानो पुस्तासँग लड्न नभई देशमा नयाँ राजनीतिक संस्कार स्थापित गर्न आएको बताएका छन् ।
चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा भएको रास्वपा प्रथम महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै उनले सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले रास्वपाको उदय आक्रोशबाट भए पनि अब यसको गन्तव्य देश निर्माण र विकल्पको राजनीति हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामी आमूल सुधारको राजनीति मार्फत कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ । हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ। त्यसैले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ ।’
अर्थमन्त्री वाग्लेले रास्वपा अब सडकको आन्दोलनबाट देश हाँक्ने संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण भइसकेको दाबी गरे । नयाँ पुस्ताले प्रश्न सोध्न र विरोध गर्न मात्र नभई, देशमा सुशासन दिन र परिणाममुखी शासन चलाउन सक्छ भन्ने कुरा प्रमाणित गर्ने बेला आएको उनको भनाइ थियो ।
नेपालको वर्तमान शासकीय स्वरूप र अर्थतन्त्रबारे टिप्पणी गर्दै उनले देशमा स्रोत र सम्भावनाको अभाव नभई गलत राजनीतिक संरचना मुख्य समस्या रहेको औंल्याए । पहुँचवाला र शक्ति केन्द्रको निकट हुनेहरू मात्रै सफल हुने परिपाटीले गर्दा इमानदार मानिसहरू राजनीति र व्यवसायबाट किनारा लाग्नुपरेको भन्दै उनले वर्तमान ‘भागबण्डा’ को स्थितिलाई बदलेर योग्यता प्रणाली (मेरिटोक्रेसी) तर्फ जानुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘हामी यस्तो प्रतिस्पर्धी अर्थतन्त्र चाहन्छौँ, जहाँ पहुँच होइन क्षमता सफलताको आधार बनोस्; जहाँ आसेपासे पुँजीवाद वा विकृत समाजवाद होइन, उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोलोस् ।’
यसैगरी, उपन्यास शैलीको परम्परागत राजनीतिबाट माथि उठेर खुला र सक्षम लोकतन्त्रको यात्रा तय गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले रास्वपाको यो महाधिवेशन संगठनात्मक कार्यक्रम मात्र नभई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ भएको घोषणा गरे । उनले युवाहरू अवसरको खोजीमा विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्दै देशमै श्रम र सीपको सम्मान हुने वातावरण बनाउन सबैलाई निराशा त्यागेर देश निर्माणको यात्रामा जोडिन आह्वान समेत गरे ।