गणतन्त्र सुदृढ बनाउन सबै एकताबद्ध हुनुपर्छ : राष्ट्रपति पौडेल

अनलाइनसमय |
१५ जेठ २०८३
गणतन्त्र सुदृढ बनाउन सबै एकताबद्ध हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको मर्यादा रक्षा गर्दै यसलाई सुदृढ बनाउन सबै राजनीतिक दल, नेतृत्व र नागरिक एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर दिएको उल्लेख गरे । उनले गणतन्त्रले देशवासीलाई जोड्दै साझा राष्ट्र निर्माणको संकल्पतर्फ प्रेरित गरेको बताए ।

उनले भने, “गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ । यसले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर दिएको छ । यसले देशवासीलाई जोडेर साझा राष्ट्र बनाउने संकल्पतर्फ प्रेरित गरेको छ । त्यसैले यो राष्ट्र निर्माणको महान प्रेरणा र अभिभारा हो ।”

गणतन्त्र केवल व्यवस्था मात्र नभई आचरणयुक्त राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको उनको भनाइ थियो । उनले राजनीतिक तथा शासकीय अभ्यासलाई नैतिकता, निष्ठा र मूल्य–मान्यतामा आधारित बनाउनुपर्ने उल्लेख गरे । ढिलासुस्ती, अनियमितता र बेथिति लोकतान्त्रिक गणतन्त्रका प्रमुख चुनौती भएको बताउँदै उहाँले नागरिकको जीवनमा आशा र विश्वास जगाउनु राज्यको दायित्व भएको धारणा व्यक्त गरे ।

“जबसम्म नागरिकको जीवनमा आशाको दियो बल्दैन, तबसम्म गणतन्त्रको लक्ष्य पूरा हुँदैन । नागरिकले सुशासन र समृद्धि चाहेका छन्, त्यसका लागि स्रोतको उच्चतम उपयोग आवश्यक छ ।” – उनले भने ।

गणतन्त्रलाई विश्वकै उत्कृष्ट शासन व्यवस्थाका रूपमा चित्रण गर्दै राष्ट्रपति पौडेलले नागरिक सर्वोच्चताको अभ्यासले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पु¥याएको उल्लेख गरे । संघीयता, समावेशिता र सामाजिक न्यायले यस व्यवस्थालाई थप सुदृढ बनाएको बताउँदै उहाँले देशको आर्थिक विकासका मुख्य आधारहरू औँल्याए ।

राष्ट्रपति पौडेलले गणतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरे ।

टुँडिखेलमा आयोजित उक्त भव्य समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधि तथा अन्य उच्चपदस्थ सरकारी अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस