काठमाडौ, १४ जेठ । नेपालमा इन्टरनेट सेवाको पहुँचमा तीव्र विस्तार भएको छ । बुधबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार देशमा इन्टरनेट ग्राहकको घनत्व (इन्टरनेट पेनिट्रेसन रेट) १४५.७ प्रतिशत पुगेको छ । यस्तोघनत्व गता आवको असारसम्म १३९.५ प्रतिशत थियो ।
सर्वेक्षणकाअनुसार नेपालमा हालसम्म फोरजी (4G) सेवाको पहुँच ८९.६ प्रतिशत जनसङ्ख्यामा पुगिसकेको छ । इन्टरनेटको पहुँच बढेसँगै सरकारी सेवाहरू पनि डिजिटल प्रविधिमा रूपान्तरण हुँदै गएका छन्, जसअन्तर्गत हाल १५० सरकारी निकायका वेबसाइटहरू सञ्चालनमा रहेका छन् ।
त्यसैगरी, दूरसञ्चार क्षेत्रका अन्य सूचकहरूमा पनि राम्रो प्रगति देखिएको छ । इन्टरनेट सेवालाई कुना–कुनासम्म पु¥याउनका लागि चालू आवको फागुनसम्ममा १९ हजार २३९ किलोमिटर अप्टिकल फाइबर विस्तार भइसकेको छ ।
फिक्स ब्रोडब्यान्ड सेवा विस्तार ५१.८५ प्रतिशत पुगेको छ भने मोबाइलमार्फत इन्टरनेट चलाउने ब्रोडब्यान्ड सेवाको विस्तार ९३.८४ प्रतिशत पुगेको छ । देशका ७५३ वटै स्थानीय तहका केन्द्रहरूमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुगेको छ ।
सेवा प्रदायकहरूमाझ नेपाल टेलिकम अगाडि
सर्वेक्षणअनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा मात्रै कुल ४ करोड २४ लाख ८९ हजार प्रयोगकर्ताले डाटा तथा इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् । जसमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को हिस्सा सबैभन्दा ठुलो देखिएको छ । फागुनसम्मको तथ्याङ्क अनुसार नेपाल टेलिकमका ग्राहक १ करोड ६८ लाख ९२ हजार रहेका छन् भने एनसेल प्रा.लि. का ग्राहक १ करोड २१ लाख ३८ हजार रहेका छन् । यसैगरी, विभिन्न निजी इन्टरनेट सेवा प्रदायकहरूमार्फत इन्टरनेट चलाउनेहरूको सङ्ख्या १ करोड ३८ लाख ६३ हजार पुगेको छ ।