काठमाडौं, ७ जेठ । कक्षा ११ को नयाँ शैक्षिक सत्र आगामी असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका विद्यालयलाई सोही मितिबाट भर्ना प्रक्रिया तथा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।
केन्द्रले बिहीबार जारी गरेको सूचनामा शैक्षिक सत्र २०८२ अन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भइसकेकाले कक्षा ११ को अध्ययन समयमै सुरु गर्न आग्रह गरिएको उल्लेख छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार शिक्षा विकास तथा समन्वय इकाइमार्फत विद्यालयहरूलाई आवश्यक तयारी पूरा गरी असार १ गतेदेखि कक्षा सञ्चालन गर्न भनिएको केन्द्रले जनाएको छ ।
यस्तै, स्थानीय तहलाई विद्यालयसँग समन्वय गरी निर्णय कार्यान्वयनमा सहजीकरण गर्न अनुरोध गरिएको छ ।