काठमाडौं, ६ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार बेइजिङमा भेट भएको हो ।
बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा आयोजित विशेष समारोहबीच चिनियाँ राष्ट्रपति सीले पुटिनलाई स्वागत गरेका थिए । भेटका क्रममा पुटिनले रुस–चीन सम्बन्ध अहिले अभूतपूर्व उचाइमा पुगेको टिप्पणी गरेको बीबीसीले उल्लेख गरेको छ । त्यहाँ दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता समेत भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको चीन भ्रमणलगत्तै पुटिन बेइजिङ पुग्नुले अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ संकेत दिएको विश्लेषण भइरहेको छ । ट्रम्पले चीन भ्रमण गरेको एक साताभित्रै पुटिन र सीबीच भएको शीर्ष वार्तालाई विश्व शक्ति राष्ट्रहरूको रणनीतिक गतिविधिसँग जोडेर हेरिएको छ ।
क्रेमलिनका अनुसार पुटिनको चीन भ्रमणका क्रममा रुस–चीन सहकार्य, सुरक्षा, ऊर्जा, अन्तर्राष्ट्रिय राजनीति तथा अन्य संवेदनशील विषयमा छलफल हुने अपेक्षा गरिएको छ । चिनियाँ विदेश मन्त्रालयले भने यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र विश्वमा स्थिरता तथा सकारात्मक सन्देश प्रवाह गर्ने जनाएको छ ।
पुटिन बेइजिङ पुग्दा चिनियाँ विदेशमन्त्री वाङ यी र सैनिक सम्मान गारतले स्वागत गरेका थिए । यो पुटिनको २५औँ औपचारिक चीन भ्रमण हो ।