खाडी मुलुकको मध्यस्थतामा इरानमाथिको सम्भावित आक्रमण टर्‍यो

अनलाइनसमय |
५ जेठ २०८३
खाडी मुलुकको मध्यस्थतामा इरानमाथिको सम्भावित आक्रमण टर्‍यो

काठमाडौं । खाडी मुलुकहरूको आग्रहपछि अमेरिकाले इरानविरुद्धको सम्भावित सैन्य आक्रमण तत्कालका लागि रोकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्पका अनुसार कतारका अमिर शेख तमिम बिन हमद अल थानी, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान तथा संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले वार्ता जारी रहेका बेला इरानमाथि आक्रमण नगर्न आग्रह गरेका थिए ।

सामाजिक सञ्जाल ‘ट्रुथ’मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले अमेरिकाले इरानविरुद्ध थप सैन्य कारबाहीको तयारी गरिरहेको भए पनि शान्ति सम्झौताको सम्भावना जारी राख्न खाडी मुलुकहरूको अनुरोधलाई सम्मान गर्दै आक्रमण स्थगित गरिएको उल्लेख गरेका छन् ।

उनले हाल इरानसँग गम्भीर स्तरमा वार्ता भइरहेको जनाउँदै अमेरिका, मध्यपूर्वका राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायलाई स्वीकार्य हुने सहमति खोज्ने प्रयास जारी रहेको बताएका छन् । ट्रम्पले सम्भावित सम्झौतामा इरानलाई आणविक हतियार विकास गर्न नदिइने बताएको अन्तरराष्ट्रिय संचारमाध्यम एएनआईले लेखेको छ ।

त्यस्तै, ट्रम्पले रक्षा नेतृत्व तथा अमेरिकी सेनालाई आवश्यक परे तत्काल सैन्य कारबाहीका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको पनि बताएका छन् । उनका अनुसार यदि स्वीकार्य सम्झौता हुन नसके अमेरिका एकै सूचनामा इरानमाथि आक्रमण गर्न तयार रहनेछ ।

इरानले अमेरिकाको शान्ति प्रस्ताव अस्वीकार गरेपछि परिस्थिति थप संवेदनशील बनेको जनाइएको छ । इरानको आणविक कार्यक्रमलाई लिएर तनाव बढिरहेका बेला वासिङ्टनले कूटनीतिक र सैन्य दुवै विकल्पमाथि विचार गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस