काठमाडौं, ३ जेठ । रुसको राजधानी मस्को आसपासको क्षेत्रमा आइतबार ठूलो परिमाणमा भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् ।
मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार एउटा आवासीय भवनमा ड्रोन खस्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । साथै भग्नावशेषमुनि फसेका थप दुई पुरुषको पनि ज्यान गएको पुष्टि गरिएको छ ।
उनले बिहान करिब ३ बजेदेखि नै वायु रक्षा प्रणाली सक्रिय भएर आक्रमण रोक्ने प्रयास गरिरहेको जानकारी दिए । घटनामा कम्तीमा चार जना घाइते भएका छन् भने विभिन्न भवन तथा पूर्वाधारमा क्षति पुगेको बताइएको छ ।
यता मस्कोका मेयर सर्गेई सोब्यानिनले रातभर राजधानी क्षेत्रमा ७४ वटा ड्रोन खसालिएको वा निष्क्रिय बनाइएको दाबी गरेका छन् । उनका अनुसार ड्रोनका भग्नावशेष खस्दा १२ जना घाइते भएका छन्
रुसी पक्षले पछिल्लो २४ घण्टामा १२० वटा ड्रोन नष्ट गरिएको दाबी गरेको एएफपीले लेखेको छ ।