कंगोमा इबोलाबाट ८० जनाको मृत्यु, डब्ल्यूएचओद्वारा विश्व स्वास्थ्य आपत्काल घोषणा

अनलाइनसमय |
३ जेठ २०८३
कंगोमा इबोलाबाट ८० जनाको मृत्यु, डब्ल्यूएचओद्वारा विश्व स्वास्थ्य आपत्काल घोषणा

काठमाडौं, ३ वैशाख । कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । यद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारी आपत्कालको मापदण्ड भने पूरा नगरेको जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशकले कंगो लोकतान्त्रिक गणतन्त्र र युगान्डाको नेतृत्वप्रति रोग नियन्त्रणका लागि आवश्यक र कडा कदम चाल्न प्रतिबद्ध रहेकोमा धन्यवाद व्यक्त गरेका छन् । साथै, यस घटनाबाट अन्य देशहरूमा हुन सक्ने जोखिमबारे स्पष्ट जानकारी दिएकोमा पनि आभार प्रकट गरेका छन्, जसले विश्व समुदायलाई तयारीका कदम चाल्न सहयोग पुगेको उल्लेख गरिएको छ ।

के हो घटना ?
कंगोका स्वास्थ्यमन्त्री स्यामुएल–रोजर कम्बाका अनुसार, यस पटकको पहिलो सङ्क्रमण एक नर्समा देखिएको अनुमान गरिएको छ, जसको गत अप्रिल २४ मा मृत्यु भएको थियो । परीक्षणका क्रममा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा संक्रमित पुष्टि भएका छन् ।

यो रोग हाल इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिसकेको छ। कंगोमा इबोला सन् १९७६ मा पहिलो पटक देखिएको थियो र यो देशमा देखिएको यसको १७औँ प्रकोप हो ।

१६ मे २०२६ सम्म कंगोको इतुरी प्रान्तमा कम्तीमा तीन स्वास्थ्य क्षेत्रमा आठ प्रयोगशालाबाट पुष्टि भएका संक्रमित २४६ पुगेको छ भने ८० जनाको मृत्यु भइसकेको छ ।

युगान्डाको राजधानी कम्पालामा पनि कंगोबाट आएका दुई व्यक्तिमा १५ र १६ मेमा संक्रमण पुष्टि भएको छ, जसमा एक जनाको मृत्यु भएको छ । त्यस्तै, १६ मेमा कंगोको राजधानी किन्शासामा पनि इतुरीबाट फर्किएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

हाल संक्रमितको वास्तविक संख्या र रोग फैलिएको क्षेत्रबारे अझै स्पष्ट जानकारी छैन। तर सुरुआती परीक्षणमा १३ नमूनामध्ये ८ मा संक्रमण पुष्टि हुनु, कम्पाला र किन्शासामा केस देखिनु तथा शंकास्पद मृत्यु र संक्रमितको संख्या बढ्दै जानुले अहिले देखिएकोभन्दा धेरै ठूलो प्रकोप हुन सक्ने संकेत गरेको डब्ल्यूएचओले जनाएको छ ।

यस क्षेत्रमा असुरक्षा, मानवीय संकट, जनसंख्याको उच्च आवतजावत, शहरी तथा अर्धशहरी क्षेत्रको प्रभाव र अनौपचारिक स्वास्थ्य संस्थाको ठूलो सञ्जालले जोखिम अझ बढाएको उल्लेख गरिएको छ । डब्ल्यूएचओका अनुसार इबोला भाइरसविरुद्ध हालसम्म स्वीकृत खोप वा विशेष औषधि उपलब्ध छैन ।

अन्य देशहरूमा फैलिने जोखिम
कम्पालामा पुष्टि भएका संक्रमितहरूले रोग अन्तर्राष्ट्रिय रूपमा फैलिन थालेको देखाएको डब्ल्यूएचओले जनाएको छ । कंगोसँग सीमा जोडिएका देशहरू जनआवतजावत, व्यापार र यात्राका कारण उच्च जोखिममा रहेको उल्लेख गरिएको छ ।
डब्ल्यूएचआले प्रकोपको वास्तविक अवस्था बुझ्न, निगरानी र नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन तथा नियन्त्रण उपाय कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस