यस वर्ष मनसुनमा २ लाख २६ हजार जनसंख्या प्रभावित हुने आकलन

अनलाइनसमय |
१ जेठ २०८३
यस वर्ष मनसुनमा २ लाख २६ हजार जनसंख्या प्रभावित हुने आकलन

काठमाडौं, १ जेठ । सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर २ लाख जनसंख्या मात्र प्रभावित हुने आकलन गरेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको हो ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षका लागि तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ स्वीकृत समेत गरेको छ ।

कार्ययोजनामा मनसुन पूर्वतयारी र प्रतिकार्यको लागि आवश्यक पर्ने सम्पर्क व्यक्तिहरू र अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्रीको विवरण राखिएको छ ।

यस्तै, बैठकले ’खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८३’ परिमार्जनसहित स्वीकृत गरेको छ । ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३’ ‘पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३’ ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि, २०८१’ का केही बुँदाहरुमा संशोधन सहित स्वीकृत गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने आकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस वर्ष मनसुन सुरुको अवधिमा देशभर सरदरभन्दा कम वर्षा रहने सम्भावना विगतको तुलनामा कम रहेको भएता पनि सरदर तापक्रम वृद्धि हुनसक्ने आकलन छ । यो अवस्थाले केही उच्च हिमाली स्थानहरूमा हिमताल विष्फोटन भई तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुजन्य विपद्को जोखिम अधिक हुने सम्भावना छ ।

मौसम विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग तथा कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताइएको छ । बाँकी अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आकलन छ ।

त्यस्तै, देशभर सरदरभन्दा न्यूनतम तापक्रम बढ्ने विभागको निष्कर्ष छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश र कोशी प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको बताइएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न भूभागमा सरदरभन्दा बढी तापक्रम रहने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।

विपद् प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ मा उल्लेख भएअनुसार यस वर्षको मनसुन अवधिमा सबैभन्दा बढी प्रभावित लुम्बिनी प्रदेश हुने देखिन्छ । लुम्बिनीमा ११ हजार ८१४ घरधुरीका ५१ हजार ६२६ जना यस वर्षको मनसुनजन्य विपदबाट प्रभावित हुने आकलन छ ।

कोशी प्रदेशमा ८ हजार ८६४ घर परिवारका ३८ हजार ७३६ जना, मधेशमा ८ हजार ९२ घरधुरीका ३५ हजार ३६१ जना र बागमतीमा ७ हजार ५२८ घरधुरीका ३२ हजार ८९७ जना प्रभावित हुने अनुमान छ ।

यसैगरी गण्डकीमा ४ हजार ९५२ घर परिवारका २१ हजार ६४१ जना, कर्णालीमा ३ हजार १५ घर परिवारका १३ हजार १७५ जना र सुदूरपश्चिममा ७ हजार ६०३ घर परिवारका ३३ हजार २२७ जना मनसुन अवधिमा प्रधावित हुने विपद् प्राधिकरणको आकलन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस