ट्रम्प–सी शिखर वार्ता : व्यापारमा सहमति संकेत, ताइवानमा मतभेद बढे खतराको चेतावनी

अनलाइनसमय |
३१ वैशाख २०८३
ट्रम्प–सी शिखर वार्ता : व्यापारमा सहमति संकेत, ताइवानमा मतभेद बढे खतराको चेतावनी

काठमाडौं, ३१ वैशाख । चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बेइजिङमा दुईदिने शिखर वार्ता सुरु भएको छ । वार्ताको सुरुआतमा सीले व्यापार वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्, तर उनले ताइवानको विषय गलत तरिकाले सम्हालिए अमेरिका–चीन सम्बन्ध खतरनाक दिशातर्फ जान सक्ने चेतावनी पनि दिएका छन् ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले ‘सहकार्य गर्दा दुवै देशलाई फाइदा हुन्छ, टकराव हुँदा दुवैलाई नोक्सानी हुन्छ’ भनेका थिए । जवाफमा ट्रम्पले सीलाई ‘महान नेता’ भन्दै यो सम्भवतः अहिलेसम्मकै ठूलो शिखर सम्मेलन हुन सक्ने बताए । बेइजिङस्थित विशाल ‘ग्रेट हल अफ द पिपुल’मा भव्य स्वागतबीच वार्ता सुरु भएको थियो ।

इरान युद्धका कारण आफ्नो लोकप्रियतामा असर परिरहेका बेला ट्रम्पको सन् २०१७ पछिको चीन भ्रमणले थप महत्व पाएको छ । अमेरिका र चीनबीच रणनीतिक प्रतिस्पर्धा बढिरहेका बेला अमेरिकी राष्ट्रपतिको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
गार्ड अफ अनर, झण्डा र फूल बोकेका बालबालिकासहितको स्वागत समारोहपछि सीले विश्वका दुई ठूला अर्थतन्त्रबीच स्थिर सम्बन्ध रहनु सम्पूर्ण विश्वकै हितमा हुने बताएका थिए ।

बन्द कोठाभित्र भएको छलफलमा सीले बुधबार आर्थिक तथा व्यापार टोलीबीचको वार्ताले ‘समग्रमा सन्तुलित र सकारात्मक परिणाम’ दिएको बताएका थिए ।

अधिकारीहरूका अनुसार वार्ताको उद्देश्य गत अक्टोबरमा ट्रम्प र सीबीच भएको व्यापार युद्धविरामलाई कायम राख्नु तथा भविष्यका व्यापार र लगानी सहकार्यका लागि संयन्त्र बनाउनु हो ।

सीले वार्ताका क्रममा ताइवानको विषय पनि उठाएका थिए । चीनले आफ्नो भूभाग दाबी गर्ने ताइवानलाई अमेरिकाले हतियार उपलब्ध गराउँदै आएको छ ।

चिनियाँ पक्षको विवरणअनुसार सीले ट्रम्पलाई ताइवान अमेरिका–चीन सम्बन्धको सबैभन्दा संवेदनशील विषय भएको बताएका थिए । यसलाई गलत तरिकाले व्यवस्थापन गरिए द्वन्द्व र अत्यन्त खतरनाक अवस्था सिर्जना हुन सक्ने उनको चेतावनी थियो ।

त्यस्तै, ट्रम्पले आफ्नो पहिलो आग्रह चीनले अमेरिकी उद्योगका लागि बजार खुला गर्नुपर्ने बताएका छन् ।

ह्वाइट हाउसका अनुसार प्रारम्भिक वार्तापछि ट्रम्प र सीले युनेस्को विश्व सम्पदा सूचीमा रहेको ‘टेम्पल अफ हेभेन’ भ्रमण गर्ने, राजकीय भोजमा सहभागी हुने तथा शुक्रबार चिया र भोजन सँगै गर्ने कार्यक्रम तय गरिएको छ ।

अली वाइनका अनुसार ट्रम्पको सन् २०१७ को भ्रमणयता शक्ति सन्तुलनमा परिवर्तन आएको छ । त्यतिबेला चीनले ट्रम्पलाई भव्य स्वागत गर्दै अमेरिकी वस्तु खरिदमा अर्बौं डलर खर्च गरेको थियो । अहिले भने अमेरिका स्वयंले चीनलाई बराबरीको महाशक्ति स्वीकार गरेको संकेत देखिएको उनले बताएका छन् ।

यसपटक ट्रम्प कमजोर अवस्थाबाट वार्तामा प्रवेश गरेका छन् । अमेरिकी अदालतहरूले चीनसहित अन्य देशमाथि मनपरी भन्सार शुल्क लगाउने उनको अधिकार सीमित गरेका छन् । चीनको अर्थतन्त्र सुस्ताए पनि सीमाथि भने त्यस्तो राजनीतिक वा आर्थिक दबाब नरहेको विश्लेषकहरूको भनाइ छ ।

यद्यपि दुवै पक्ष गत अक्टोबरमा भएको व्यापार युद्धविराम कायम राख्न इच्छुक छन् । त्यस क्रममा ट्रम्पले चिनियाँ वस्तुमाथिको उच्च भन्सार स्थगित गरेका थिए भने चीनले विद्युतीय सवारीदेखि हतियार निर्माणसम्म प्रयोग हुने दुर्लभ खनिज (रेयर अर्थ) आपूर्ति रोक्ने कदमबाट पछि हटेको थियो ।

दुवै देशबीच कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार र लगानी सहकार्यका नयाँ संयन्त्रबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस