काठमाडौं, ३१ वैशाख । प्रतिनिधिसभाको आज (बिहीबार)को बैठकमा पनि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नजाने भएका छन् ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजको बैठकमा पनि प्रधानमन्त्री सहभागी नहुने भएका हुन् ।
संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने उल्लेख छ । आज बिहान तय भएको प्रतिनिधिसभाको दैनिक कार्यसूचीको दोस्रो नम्बरमा यो विषय छ ।
कार्यसूचीमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीको तर्फबाट माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३÷०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने ।’
यसअघि बुधबार प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा विरोध गरेका थिए ।
नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।
