काठमाडौं, ३० वैशाख । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि पछिल्लो समय नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जानेक्रम बढ्दो छ । नौ महिनामा वैदेशिक अध्ययनका लागि करिब सवा १ खर्ब रुपैयाँ विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकका अनसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को चैतसम्ममा वैदेशिक अध्ययनका लागि १ खर्ब १२ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ८ दशमलव ७१ प्रतिशतले बढी हो । त आवको सोही अवधिमा शिक्षातर्फको भ्रमण व्यय १ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ थियो ।
शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै १ खर्ब ६५ अर्ब रुपैयाँ विदेशिएको छ । यो अघिल्लो आवको चैतसम्मको तुलनामा २ दशमलव ६ प्रतिशतले कम हो । अघिल्लो वर्षमा यस्तो खर्च १ खर्ब ६९ अर्ब ८४ करोड रहेको थियो ।
चालू आवको नौ महिनामा खुद सेवा आय ६७ अर्ब ५४ करोडले घाटामा रहेको छ । गत आवको सोही महिनामा खुद सेवा आय ६७ अर्ब ४५ करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार भ्रमणका लागि नेपाल आउने पर्यटकले ६४ अर्ब १० करोड रुपैयाँ खर्च गरेका छन् । जुन गत वर्षको तुलनामा ३.८ प्रतिशतले कम हो । गत आवको चैतसम्ममा यस्तो आय १० अर्ब ५५ करोड रहेको थियो ।