काठमाडौं, ३० वैशाख । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको छ ।
वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्न प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममाथि दर्ता गराएका संशोधन प्रस्तावहरू पनि प्रस्तुत गर्नेछन् । त्यसपछि नीति तथा कार्यक्रमका विभिन्न पक्षमा सांसदहरूबीच छलफल हुने कार्यतालिका रहेको छ ।
यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूचीसमेत रहेको छ ।