कुल नारायण श्रेष्ठ,
काठमाडौं, २९ वैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत कृषि क्षेत्रमा एक महत्त्वाकांक्षी अवधारणा अघि सारेको छ— ‘प्याकेजमा आधारित उत्पादन प्रणाली’ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्मा प्रस्तुत यस कार्यक्रमले परम्परागत र निर्वाहमुखी खेती प्रणालीलाई आधुनिकीकरण गर्दै कृषिलाई संगठित उद्योगका रूपमा स्थापित गर्ने लक्ष्य राखेको देखिन्छ ।
विश्व खाद्य तथा कृषि संगठन (एफएओ)को एक प्रतिवेदनअनुसार प्याकेज प्रणाली भनेको कृषि उत्पादनलाई अलग–अलग गतिविधिका रूपमा नभई एकीकृत ‘प्याकेज’का रूपमा सञ्चालन गर्ने प्रणाली हो । यसमा बीउ, मल, प्रविधि, सिंचाइ, बीमा, उत्पादन, प्रशोधन, भण्डारण र बजारिकरणसम्मका सबै पक्ष एकै संरचनामा जोडिन्छन् ।
भारतीय विज्ञ डा. एम.एस. स्वामीनाथनले ‘प्रिसिजन फार्मिङ प्याकेज’ बारे एक अन्तरवार्तामा भनेका छन्, ‘किसानलाई केवल बीउ दिएर पुग्दैन, उसलाई माटो, मौसमको जानकारी र बजारको सुनिश्चितता एउटै प्याकेजमा दिइनुपर्छ ।’
यस प्रणाली अन्तर्गत निश्चित भौगोलिक क्षेत्रलाई निश्चित बालीका लागि ‘पकेट क्षेत्र’ घोषणा गरी उत्पादनदेखि उपभोगसम्मको सबै प्रक्रिया उपलब्ध गराइन्छ । नेपालमा किसानले बीउ पाउँदा मल नपाउने, मल पाउँदा सिँचाइ नहुने र सबै भए पनि उचित बजार तथा मूल्य नपाउने समस्या झेल्दै आएका छन्, त्यसलाई यस प्रणालीले पूर्णतः सम्बोधन गर्ने विज्ञहरू बताउँछन् ।
यस्तो छ अन्तरराष्ट्रिय अभ्यास
विश्वमा ‘प्याकेजमा आधारित उत्पादन प्रणाली’ वा ‘इन्टिग्रेटेड फार्मिङ सिस्टम’ सफल भएका अनेक उदाहरण छन् । छिमेकी मुलुक भारतमा ‘हर्टिकल्चर क्लस्टर डेभलपमेन्ट प्रोग्राम’ मार्फत यस्तै प्याकेज प्रणाली लागू गरिएको छ ।
जर्नल अफ एरिड इन्भायरोन्मेन्ट्समा प्रकाशित एक लेख अनुसार इजरायलले सीमित स्रोत र साधनका बीच प्रविधि र बजारको एकीकृत प्याकेज प्रयोग गरेर मरुभूमिमा पनि कृषि क्रान्ति गरेको छ ।
त्यस्तै भियतनामले धान उत्पादनमा ‘वान मस्ट एण्ड फाइभ रिडक्सन्स’ (वान एम फाइभ आर) प्याकेज लागू गरेको छ । इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्युटको प्रतिवेदन अनुसार यो प्याकेजले किसानको लागत २५ प्रतिशतले घटाएको र आम्दानी २० प्रतिशतले बढाएको पाइएको छ ।
ती देशहरूमा सरकारले किसानलाई प्रविधि र बजारको ‘ग्यारेन्टी’ दिने तथा किसानले गुणस्तरीय उत्पादनमा ध्यान दिएकाले यस मोडेल सफल सावित भएको छ ।
प्याकेज प्रणालीले कसरी काम गर्छ ?
‘प्याकेजमा आधारित उत्पादन प्रणाली’ले परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै प्रविधि र आधुनिकीकरण गर्छ । एक प्रतिवेदन अनुसार यो प्रणालीले ‘जहाँ जे फल्छ, त्यहाँ त्यही’ भन्ने सिद्धान्तमा आधारित भएर उत्पादन क्षेत्र निर्धारण गर्छ ।
यस प्रणालीमा आधुनिक प्रविधिको भूमिका महत्त्वपूर्ण हुन्छ । नेचर फूड जर्नलमा प्रकाशित एक अनुसन्धान अनुसार डिजिटल सेन्सरमार्फत माटोको स्वास्थ्य र मौसमको जानकारी दिइन्छ । यसले उत्पादनमा हुने जोखिम १५ देखि २० प्रतिशतले घट्छ ।
उत्पादन भएपछि बजार खोज्नुपर्ने बाध्यतालाई यो प्रणालीले अन्त्य गर्छ । बजारको मूल्य पहिले नै सुनिश्चित गरिने भएकाले किसानले उत्पादनमा मात्र ध्यान दिन पाउँछन् । सार्वजनिक–निजी साझेदारीमा स्थापना हुने कृषि कम्पनीहरूले किसानको उत्पादनलाई उद्योग र प्रशोधन केन्द्रसम्म सिधै लैजान्छन् ।
यद्यपि यो प्रणालीले उत्पादनका साथै माटोको स्वास्थ्य र जैविक विविधताको पनि ख्याल राख्छ । खाद्य तथा कृषि संगठनका ‘एकीकृत बाली व्यवस्थापन’ (इन्टिग्रेटेड क्रप म्यानेजमेन्ट) नामक प्रतिवेदन अनुसार प्याकेज प्रणालीले विषादीको प्रयोगलाई नियमन गरी अर्गानिक र दिगो खेतीलाई प्रोत्साहन गर्छ । नेपालमा विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवा जनशक्तिलाई कृषि उद्यममा आकर्षित गर्न यो प्रणाली बलियो आधारस्तम्भ बन्न सक्छ ।