काठमाडौं, २७ वेशाख । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी पूरा गर्दै नतिजा हेर्न सकिने आधिकारिक माध्यमहरूको विवरण सार्वजनिक गरेको छ ।
कार्यालयका अनुसार नियमित तथा ग्रेडवृद्धितर्फका परीक्षार्थीले एसएमएस, आईभीआर सेवा तथा विभिन्न वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् । मोबाइल प्रयोगकर्ताले नेपाल टेलिकमको १६०० नम्बरमार्फत एसएमएस, यूएसएसडी र आईभीआर सेवा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा एसएमएस पठाएर पनि नतिजा थाहा पाउन सकिनेछ ।
नतिजासँगै विस्तृत विवरण र मार्कसिट हेर्नका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न वेबसाइटलाई अनुमति दिइएको बोर्डले जनाएको छ । परीक्षार्थीहरूले सरकारी वेबसाइट www.see.gov.np र www.neb.gov.np सहित नेपाल टेलिकम, कान्तिपुर, इडु सञ्जाल, खल्ती लगायतका प्लेटफर्ममार्फत नतिजा हेर्न सक्नेछन् ।
