काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा युरी गगारिनको ऐतिहासिक योगदानको स्मरणमा काठमाडौंमा आयोजना गरिएको तीन दिने कोस्मोनटिक्स महोत्सव सम्पन्न भएको छ । अप्रिल ८ देखि १० सम्म चलेको महोत्सवमा विभिन्न शैक्षिक, प्रेरणादायी तथा अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गरिएको थियो ।
महोत्सवको दोस्रो दिन मित्र कुञ्ज र रसियन हाउस इन काठमाडौं (रुसी सदन)को सहकार्यमा विचार गोष्ठी कार्यक्रम आयोजना गरियो । कार्यक्रममा सह–प्राध्यापक डा. नन्द विक्रम अधिकारीले ‘नेपालको अन्तरिक्ष कार्यक्रम तथा नीतिको समयरेखा र यसको विश्व अन्तरिक्ष कार्यक्रममा स्थान’ विषयमा प्रस्तुति दिए । हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक क्याम्पसमा कार्यरत उनले नेपालको अन्तरिक्ष क्षेत्रको विकास, नीतिगत पहल तथा अन्तर्राष्ट्रिय सन्दर्भबारे महत्वपूर्ण धारणा राखे । सो क्रममा रूसको अन्तरिक्ष इतिहाससम्बन्धी डकुमेन्ट्रीसमेत प्रदर्शन गरिएको थियो ।
महोत्सवको अन्तिम दिन बिहान रत्नपार्कस्थित युरी गगारिनको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमको सुरुवात गरियो । कार्यक्रममा नेपाल–रुस साइन्स एन्ड टेक्नोलोजी सोसाइटी, द स्क्वाड अफ चेंजमेकरस्, रुसी सदन तथा नेपालस्थित रुसको दूतावासका प्रतिनिधिहरूको सहभागिता थियो । साथै मन्त्री सल्लाहकार तथा कार्यवाहक राजदूत रिन्चेन राक्षायेभको उपस्थितिसहित विद्यार्थी, कर्मचारी तथा अन्य आमन्त्रित अतिथिहरू सहभागी भएका थिए । कार्यक्रममा पुष्प अर्पण, विद्यार्थीहरूको मन्तव्य तथा अतिथिहरूको सम्बोधनमार्फत अन्तर्राष्ट्रिय कोस्मोनटिक्स दिवसको महत्वबारे चर्चा गरिएको थियो ।
त्यसपछि मुख्य कार्यक्रम रुसी सदनमा आयोजना गरिएको थियो, जहाँ करिब १०० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ‘ब्रह्माण्डको विशालता’ र ‘अन्तरिक्ष यात्राको भविष्य’ जस्ता विषयमा प्रस्तुति राखिएको थियो, जसले सहभागीहरूलाई अन्तरिक्ष विज्ञानको व्यापकता र सम्भावनाबारे जानकारी दिएको थियो ।
कार्यक्रम अन्तर्गत अन्तरक्रियात्मक प्रश्नोत्तरी तथा खेलकुद सत्रले विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि प्रेरित गरेको थियो । साथै अघिल्लो दिन सम्पन्न एयरोस्पेस तथा रकेट्री कार्यशालाका उत्कृष्ट सहभागीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) का मदनलाल श्रेष्ठले सम्बोधन गर्दै नेपालमा विज्ञान तथा प्रविधि शिक्षाको महत्व दिनप्रतिदिन बढ्दै गएको बताए । उनले युवा पुस्तालाई अनुसन्धान, नवप्रवर्तन तथा सिर्जनशील सोचतर्फ अग्रसर हुन प्रेरित गरे । साथै अन्तरिक्ष विज्ञान क्षेत्रमा नेपालको सहभागिता विस्तार गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे ।
यसै अवसरमा “पृथ्वीभन्दा परको विरासतः युरी गगारिनको ऐतिहासिक अन्तरिक्ष यात्राको ६५ वर्ष” शीर्षकमा प्रदर्शनीसमेत रुसी सदनमा सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिएको छ । प्रदर्शनीमा युरी गगारिनको जीवन, उपलब्धि तथा अन्तरिक्ष अन्वेषणमा रूसको ऐतिहासिक योगदानबारे जानकारी समेटिएको छ ।
कार्यक्रमको समापनसँगै सम्मान तथा मायाको चिनो प्रदान गरिनुका साथै प्रदर्शनी अवलोकन र सहभागीहरूबीच अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको आयोजकले जनाएको छ ।