काठमाडौं, २६ चैत । प्रधानमन्त्री बालेन शाहले श्रममन्त्री दीपकुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् ।
यसअघि, पार्टी सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका लागि प्रधानमन्त्रीलाई पत्र पठाएका थिए ।
पत्रमा भनिएको थियो, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समय देखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको व्यहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारवाहीको लागि मिति २०८२ चैत्र २५ गते पत्र प्राप्त भएको जानकारी गराउँदछु । यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको छ ।
पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन (चष्नजत तय चभअबिि) सक्ने व्यवस्था भएकोले निज माननीय मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न साथै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु ।’
साहको विगतदेखि नै विवादित छवि रहेको र मन्त्री बनेपछि पनि शंकास्पद काममा संलग्न भएको सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले चासो देखाएर रास्वपाका नेताहरुसँग छलफल गरेका थिए ।
गत चैत १३ गते मन्त्री नियुक्त भएका आफ्नै श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाइएका थिए । जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्यको रुपमा समेत बैठकमा सहभागी भएकी थिइन् । जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डले लगातार ११ पटकसम्म बैठकमा अनुपस्थित रहेको भन्दै पदबाट हटाएको थियो ।