काठमाडौं, १३ जेठ । विपक्षी दल नेपाली कांग्रेसले कोशी प्रदेश सभा बैठक स्थगित गर्न माग गरेको छ ।
कांग्रेस संसदीय दलले पत्र पठाउँदै कोशी सरकारबारेको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै अदालतबाट मुद्दा टुंगो नलागेसम्म प्रदेश सभा बैठक अघि नबढाउन माग गरेको छ । प्रदेश सभा बैठक आइतबार (आज) बस्दै छ ।
बैठक नरोकिए कांग्रेस अनुपस्थित हुने जानकारी सहितको पत्र सभामुख अम्बरबहादुर विष्टलाई बुझाएको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।
कोशी प्रदेश सभाको बर्खे अधिवेशन वैशाख ३१ मा सुरू भएको थियो । अधिवेशनको पहिलो दिन नै मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिएका थिए । अदालतमा सरकारबारे विवाद कायमै रहेको बेला मुख्यमन्त्रीले हतारमा विश्वासको मत लिएको भन्दै कांग्रेस पहिलो बैठकमा अनुपस्थित रहेको थियो।
यस्तै तामाङले अदालतमा विचाराधीन उक्त मुद्दाको टुंगो नलागेसम्म प्रदेशसभा बैठक सञ्चालन गर्न नहुने पक्षमा कांग्रेस रहेको बताए । सरकार गठनको विरद्धमा परेको उक्त मुद्दाको पेशी सर्वोच्च अदालतले यही जेठ १६ गतेलाई तोकेको छ ।