काठमाडौं, २२ चैत । इरानले विपक्षी समूह ‘पिपुल्स मोजाहेदिन संगठन’ (पीएमओआई/एमईके)का दुई सदस्यलाई ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा फाँसी दिएको छ ।
इरानी न्यायालयको ‘मिजान अनलाइन वेबसाइट’का अनुसार मोहमद–अमीन बिग्लारी र शाहिन वाहेदपरस्त जनवरी सन् २०२६ मा भएको विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा मृत्युदण्ड दिइएको हो । सर्वोच्च अदालतले आफ्नो फैसला पुनः पुष्टि गरेपछि ती दुई जनालाई शनिबार बिहान फाँसी दिइएको अल जजीरामा उल्लेख छ ।
इरानको सर्वोच्च अदालतले उनीहरूविरुद्धको सजायलाई यथावत् राख्दै ‘धेरै आतंकवादी गतिविधिमा संलग्न भई सशस्त्र विद्रोह गरेको’ अभियोगमा दोषी ठहर गरेको थियो ।
पीएमओआई/एमईकेले सुरुमा सन् १९७९ को इरानियन रिभोलुसनलाई समर्थन गरेको थियो, जसले इरानको राजतन्त्र अन्त्य गरेको थियो । तर १९८० को दशकमा यो समूह तेहरानको नयाँ नेतृत्वसँग टकरावमा प¥यो र त्यसपछि यसलाई ‘आतंकवादी संगठन’ घोषित गरियो । त्यसपछि यो समूह निर्वासनमा सञ्चालन हुँदै आएको छ ।
यस समूहका थप चार सदस्यलाई मार्च ३० र ३१ मा पनि फाँसी दिइएको थियो । पीएमओआई/एमईकेको को वेबसाइटअनुसार ती व्यक्तिहरू मोहम्मद ताघावी, अकबर दानेश्वरकार, बाबाक अलीपुर र पौया घोबादी थिए । पीएमओआई/एमईकेको अनुसार ६ जनालाई २०२४ को अन्त्यतिर क्रान्तिकारी अदालतले पक्राउ गरी दोषी ठहर गरेको थियो ।
‘निष्फल’ दमन
समूहले अप्रिल २ उक्त फाँसीलाई ‘निष्फल’ प्रयास भन्दै विरोध जनाएको छ । ‘यी क्रूर फाँसीहरूले विपक्षीलाई मौन बनाउने छैनन्; बरु यसले इरानका विद्रोही युवाहरूको संकल्प अझ बलियो बनाउनेछ,’ पीएमओआई/एमईकेले जनाएको छ ।
मानव अधिकार समूहहरूले पनि यो फाँसीको आलोचना गरेका छन् । कार्यकर्ताहरूले लामो समयदेखि इरानलाई चीनपछि सबैभन्दा धेरै फाँसी दिने देशमध्ये एक भएको आरोप लगाउँदै आएका छन् ।
मार्च ३१ मा भएका फाँसीपछि एम्नेस्टी इन्टरनेशनलले इरानी अधिकारीहरूले कैदमा राख्दा ती व्यक्तिहरूलाई यातना दिएको र फाँसी दिनुअघि अज्ञात स्थानमा सारिएको आरोप लगाएको थियो ।
एम्नेस्टीले जनवरीमा भएका सरकारविरोधी प्रदर्शनका क्रममा पक्राउ परेका प्रदर्शनकारीहरूलाइ फाँसी दिने तयारी भइरहेको हुनसक्ने चिन्ता पनि व्यक्त गरेको छ, ती प्रदर्शनका क्रममा हजारौं मानिस मारिएका थिए ।
एम्नेस्टी इन्टरनेसनलकी मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रकी उपनिर्देशक डायना एल्ताहावीले भनिन्, ‘जब जनता युद्ध र शोकबाट प्रभावित छन्, त्यही बेला इरानी सरकारले मृत्युदण्डलाई असहमति दबाउन र जनतालाई डराउन प्रयोग गरिरहेको छ, जुन अस्वीकार्य छ ।’
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि तेहरानले धेरै व्यक्तिहरूलाई फाँसी दिइसकेको छ । तीमध्ये एक कुरोश केयवानी पनि थिए, जसलाई इजरायलका लागि जासुसी गरेको आरोपमा दोषी ठहर गरिएको थियो । यस घटनाले स्वीडेन र युरोपेली संघबाट तीव्र प्रतिक्रिया आएको थियो ।
यसैबीच, प्रदर्शनका क्रममा अमेरिका र इजरायलका लागि काम गरेको आरोपमा दोषी ठहर गरिएका एक व्यक्तिलाई बिहीबार पनि फाँसी दिइएको थियो । यसअघि मार्च १९ मा सालिह मोहम्मदी, मेहदी घासेमी र सईद दाउदीलगायत चार जनालाई पनि आन्दोलनसँग सम्बन्धित आरोपमा मारिएको थियो ।
एम्नेस्टील मृत्युदण्डको सजाय पाएका थप पाँच युवा प्रदर्शनकारीलाई चाँडै फाँसी दिन सकिने जोखिम रहेको चेतावनी दिएको छ । उसका अनुसार उनीहरूलाई यसै साता गेह्जेल हेसार कारागारबाट अज्ञात स्थानमा सारिएको छ ।