आजबाट ‘रसियन फिल्म डेज’ सुरु

अनलाइनसमय |
२० चैत २०८२
आजबाट ‘रसियन फिल्म डेज’ सुरु

काठमाडौं, २० चैत । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत आयोजित ‘रसियन फिल्म डेज’ को औपचारिक सुरुआत शुक्रबार काठमाडौंमा गरिएको छ । कमलपोखरीस्थित रसियन हाउसमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपालका लागि रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स रिनचिन सक्साएब तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै सक्साएबले चलचित्र क्षेत्रका व्यक्तिहरूबीच आपसी सद्भाव आवश्यक रहेको धारणा राखे । उनले ‘रसियन फिल्म डेज’ले यस्ता सम्बन्ध सुदृढ बनाउन निरन्तर योगदान दिँदै आएको बताए । साथै निफको नवौँ संस्करणका क्रममा नेपालकै पहिलो रंगीन चलचित्र ‘कुमारी’सँग सम्बन्धित कलाकार र प्राविधिकहरूसँग भेटघाटको अनुभव पनि उनले साटे ।

कार्यक्रममा बोल्दै सदस्यसचिव काफ्लेले नेपाल–रुसबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्धको सन्दर्भमा ‘रसियन फिल्म डेज’ र निफबीचको सहकार्यलाई विशेष महत्व रहेको बताए । उनले कार्यक्रम सफलताका लागि शुभकामना पनि व्यक्त गरे ।

कार्यक्रमअन्तर्गत ऐतिहासिक तथा थ्रिलर विधामा आधारित फिल्म ‘अगस्ट’ प्रदर्शन गरिएको थियो । दोस्रो विश्वयुद्धको अन्त्यतिरका घटनामा आधारित यस फिल्ममा सोभियत रेड आर्मीमाथि सम्भावित पछाडिबाट हुने आक्रमण रोक्न गरिएको काउन्टर इन्टेलिजेन्सको संघर्ष प्रस्तुत गरिएको छ । फिल्मको निर्देशन इल्या लेबेदेव र निकिता वैसोत्स्कीले संयुक्त रूपमा गरेका हुन् ।

यसैगरी, ‘रसियन फिल्म डेज’ अन्तर्गत ‘द च्यालेन्ज’, ‘द डिनो प्यामिली’ र ‘अल रङ गर्ल’ पनि प्रदर्शन हुने कार्यक्रम रहेको छ । अन्तरिक्षमा छायांकन गरिएको पहिलो फिल्म ‘द च्यालेन्ज’ मा अन्तरिक्ष स्टेशनमै शल्यक्रिया गर्नुपर्ने चुनौतीपूर्ण कथावस्तु समेटिएको छ । त्यस्तै, ‘द डिनो प्यामिली’ ले डाइनोसर युगमा पुगेकी किशोरीको साहसिक यात्रा देखाउँछ भने ‘अल रङ गर्ल’ ले विद्यालयस्तरमा हुने ‘बुलिङ’ को विषय उठान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस