प्रतिपक्षी दलहरूलाई रविको आग्रह : हामीमाथि २४ सै घण्टा निगरानी गर्नू

अनलाइनसमय |
१९ चैत २०८२
प्रतिपक्षी दलहरूलाई रविको आग्रह : हामीमाथि २४ सै घण्टा निगरानी गर्नू

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारमाथि २४ सै घण्टा निगरानी गरिदिन प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् ।

बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । ‘प्रतिपक्ष दलहरूलाई मेरो विनम्र आग्रह छ । हामीमाथि २४ सै घण्टा निगरानी गरिदिनुहोला,’ लामिछानेले आग्रह गरे ।

यस्तै उनले सरकारले प्रतिपक्षको आवाज कमजोर हुन नदिने उद्घोष गरे । ‘प्रतिपक्षको आवाज कमजोर बनाइयो र धेरै उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुने छ । यो हामीले अस्ति भर्खरै देखिसकेका छौं । यो संसद बहसको थलो हुने छ, प्रतिशोधको होइन,’ उनले भने ।

साथै उनले शासनमा लामो अनुभव रहेको उल्लेख गर्दै प्रतिपक्षी दलहरूलाई सरकार र पार्टीका कमजोरी उजागर गरिदिन पनि भने ।  ‘गल्ती देखाइदिनुहोला । यदि हामीले बाटो बिरायौं भने सच्याइदिनुहोला । यदि हामी जनताबाट टाढा हुन खोज्यौं भने हामीलाई जनताको आवाज सम्झाइदिनुहोला । हामीबाट अहंकार नबढोस्, हामीमा कुनै अहंकार नछाओस् । हाम्रा निर्णयहरू एकतर्फी नहून्। लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एकर्काका पूरक पनि हुन् । एकले काम गर्छ, अर्कोले निगरानी गर्छ, एकले योजना बनाउँछ, अर्कोले परख गर्छ,’ उनले भने ।

साथै, उनले आफ्ना सांसदहरूलाई प्रश्न सोधेर आएको सम्झाउँदै जिम्मेवारी पनि उति नै रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस