काठमाडौं, १९ चैत । पचास वर्षभन्दा लामो समयपछि चन्द्रमाको परिक्रमा गर्न अमेरिकी अन्तरिक्ष संस्था नासाको मानवसहितको यान ’आर्टिमिस २’ प्रक्षेपण गरिएको छ । अमेरिकाको फ्लोरिडास्थित केप क्यानावेरलमा रहेको केनेडी स्पेस सेन्टरबाट उडेको यो अन्तरिक्षयानले अहिले पृथ्वीको फन्को मारिरहेको छ । यो आधा शताब्दी पछि चन्द्रमामा पहिलो चालक युक्त मिशन हो ।
यो अन्तरिक्ष मिसनमा तीन अमेरिकी अन्तरिक्षयात्री रिड वाइजमन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा एक क्यानडेली अन्तरिक्षयात्री जेरेमी ह्यान्सन सामेल छन् ।
यसमा सवार सदस्यहरूले सबै जाँच नसक्दासम्म पहिलो २४ घण्टा यसले पृथ्वीलाई फन्को लगाइरहने छ । त्यसमा सबै ठिकठाक देखिए उक्त यानलाई चन्द्रमातर्फ अगाडि बढ्न अनुमति दिइने अधिकारीहरूले बताएका छन् ।
चालक दल सुरक्षीत र उच्च मनोबलमा रहेको नासाका अधिकारीले बताएका छन् । नासाका अन्तरिक्षयात्री रिड वाइजमनले ‘भव्य दृश्य’ देखिएको बताए। प्रक्षेपणको केही समयपछि उनले भने ‘हामीले गजबको चन्द्रोदय देख्यौँ ।’
उनीहरू आफ्नो १०–दिने मिशनमा चन्द्रमामा अवतरण गर्ने छैनन्, तर यसलाई वरिपरि परिक्रमा गर्ने योजना छ र सम्भवतः पृथ्वीबाट सबैभन्दा टाढा जानेछन् । यस यात्राको एउटा रोचक पक्ष के छ भने, यो यान चन्द्रमाको पछाडिको भागबाट ४,६०० माइल टाढासम्म पुग्नेछ, जुन मानव इतिहासमा पृथ्वीबाट सबैभन्दा टाढा पुगेको बिन्दु हुनेछ ।