काठमाडौं, १३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।
शुक्रबार दिउँसो फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिँदै भनेका छन, ‘तपाईँको नियुक्ति नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो ।’
यस्तै, मोदीले बालेनसँग मिलेर नेपाल–भारत सम्बन्ध अझै उचाइमा पुर्याउन उत्सुक रहेको पनि बताएका छन् । ‘भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पु¥याउन तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु,’ मोदीले भनेका छन् ।
यसैगरी पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले पनि प्रधानमन्त्री बालेनलाई बधाई दिएका छन् । शुक्रबार एक्समार्फत बधाई दिँदै प्रधानमन्त्री शरिफले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्य अघि बढाउन बालेनसँग नजिक रहेका काम गर्न उत्सुक रहेको बताएका छन् ।
पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई सधैँ उच्च मूल्यांकनका साथ हेर्ने उनले बताएका छन् । ‘द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउन तथा क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्य अघि बढाउन सम्माननीयसँग नजिकबाट काम गर्न उत्सुक रहेको छ,’ शरिफले अगाडि लेखेका छन् ।