काठमाडौं, १३ चैत । बालेन नेतृत्वको सरकारमा महिलातर्फबाट पाँच मन्त्री बन्ने भएका छन् । चितवन ३ बाट निर्वाचित सोविता गौतमलाई कानूनमन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघिको प्रतिनिधिसभामा समेत सांसद रहेकी गौतम कानूनकी विद्यार्थी र अधिवक्ता हुन् । उनले कानूनमा स्नातक गरेकी छिन् ।
सोविताबाहेक अन्य मन्त्री बनेका चार जना समानुपातिक तर्फबाट आएका हुन् । प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बन्ने भएकी छिन् । एक दशकभन्दा लामो समय संचारकर्मीको रुपमा काम गरेकी उनले स्नातकोत्तर गरेकी छिन् ।
निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्दैछिन् । नर्सिङमा स्नातकोत्तर गरेकी उनी व्यवसायिक नर्स हुन् ।
त्यस्तै, गीता चौधरी कृषिमन्त्री बन्ने भएकी छन् । कानूनमा स्नातक गरेकी उनी अधिवक्ता पनि हुन् । सीता वादीलाई महिला बालबालिका मन्त्री बनाइने भएको छ । वादी समुदायबाट पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने उनी समाजसेवामा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन् ।