काठमाडौं, ९ चैत । इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन जारी रहेको जनाएको छ । इरानको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै युद्धको अवस्थालाई ध्यानमा राख्दै आवश्यक सुरक्षा उपायहरू अपनाएर जहाजहरू निरन्तर आवागमन भइरहेको बताएको छ ।
‘अन्तर्राष्ट्रिय कानुनअनुसार आक्रमणकारी पक्ष वा उनीहरूको सैन्य कारबाहीमा संलग्न देशहरूसँग सम्बन्धित जहाजहरूको आवागमन रोकिएको छ,’ इरानको विदेश मन्त्रालयले भनेको छ, ‘तर आक्रमणकारी गतिविधिमा संलग्न नभएका देशका जहाजहरू इरानी निकायसँग समन्वय गरेर सुरक्षित रूपमा हर्मुज जलडमरूमध्य पार गर्न सक्नेछन् । यदि उनीहरूले इरानविरुद्धको गतिविधिमा सहभागिता जनाएका छैनन् भने ।’
विदेश मन्त्रालयले हर्मुज क्षेत्रमा जहाज सञ्चालन स्वतन्त्रता र समुद्री सुरक्षालाई सधैं सम्मान गर्दै आएको बताएको छ । पछिल्लो समय अमेरिका र इजरायलद्वारा गरिएका सैन्य आक्रमणका कारण खाडी क्षेत्र र हर्मुज क्षेत्रमा जोखिमपूर्ण अवस्था सिर्जना भएको दाबी गरिएको छ ।
इरानले आक्रमणकारी पक्षसँग सम्बन्धित जहाज, उपकरण वा कुनै पनि साधनलाई सामान्य आवागमनको रूपमा नलिइने र युद्ध अवस्थाअनुसार व्यवहार गरिने विज्ञप्तिामा भनेको छ । यस विषयमा सम्बन्धित इरानी निकायले आवश्यक निर्णय गर्ने उल्लेख छ ।
इरानले हर्मुज जलडमरूमध्यमा दीर्घकालीन शान्ति र स्थिरता स्थापना गर्नका लागि बाह्य सैन्य आक्रमण अन्त्य, अमेरिका र इजरायलका गतिविधि रोक्नुर्ने र इरानको वैध हितको सम्मान गर्नुपर्ने बताएको छ ।