काठमाडौं, ६ चैत । मध्येपूर्वमा जारी द्वन्द्व दिनप्रतिदिन थप जटिल र भयावह बन्दै गएको छ । मिसाइल र ड्रोन आक्रमणबीच यो संघर्ष अहिले २१औँ दिनमा पुगेको हो ।
यही परिस्थितिमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पत्रकार सम्मेलन गर्दै विभिन्न विषयमा प्रतिक्रिया दिएका छन् । उनले सुरुमै आफू सुरक्षित रहेको संकेत गर्दै भने, ‘म अझै जीवित छु, तपाईंहरू सबै यसको साक्षी हुनुहुन्छ ।’ यसअघि उनको मृत्यु भएको भन्ने हल्ला फैलिएका थिए ।
नेतन्याहूले इरानको परमाणु तथा सैन्य क्षमतामाथि टिप्पणी गर्दै अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणपछि इरानको युरेनियम संवद्र्धन तथा ब्यालिस्टिक मिसाइल उत्पादन क्षमता कमजोर बनेको दाबी गरेको द हिन्दुले लेखेको छ । नेतन्याहूका अनुसार इरान अब परमाणु हतियार निर्माण गर्न सक्ने अवस्थामा छैन ।
उनले इरानको मिसाइल र ड्रोन भण्डारमा ठूलो क्षति पुगेको र ती संरचनाहरू छिट्टै पूर्ण रूपमा ध्वस्त हुने दाबी पनि गरे ।