काठमाडौं, २ चैत । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अब संसदीय राजनीतिबाट टाढा रहने तर जनताको अधिकार, पहिचान र एजेन्डाका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका हुन् ।
‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’
उनले २०७५ सालमा स्वतन्त्र मधेश गठबन्धनलाई सरकारले काम गर्न नदिएको र जनतामाझ जान समेत अवरोध गरेपछि नयाँ पार्टी गठन गर्नुपर्ने अवस्था आएको स्मरण गरेका छन् । त्यस क्रममा अन्य नेताहरूले अध्यक्ष बन्न नमानेपछि आफूले नै नेतृत्व सम्हाल्नुपरेको उनको भनाइ छ ।
२०७९ सालको आमनिर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिक कतैबाट नलड्ने सोच बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहपछि निर्वाचनमा भाग लिएको उनले बताएका छन् । सो निर्णयका कारण जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय पार्टी बन्न सफल भएको उनले उल्लेख गरेका छन् ।
त्यस्तै २०८२ को निर्वाचन पनि नलड्ने निर्णय पहिल्यै गरेको भए पनि अन्तिम समयमा नेताहरू र कार्यकर्ताको मनोबल नघटोस भनेर उम्मेदवारी दिएको उनले बताएका छन् । परिणामपछि साथीहरूको सल्लाह मानेर चुनाव लड्ने निर्णय सही भएको महसुस भएको उनको भनाइ छ ।
राउतले अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयार गर्नमा लाग्ने बताएका छन् । उनले लेखेका छन, ‘जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनको लागि तैयारी गराउन प्रतिबद्ध छु ।’
आफू सदैव जनताहरूको बीचमा नै रहने र हरेक मोर्चा र संघर्षमा खडा हुने, अधिकार र पहिचानको लडाईँमा सदैव भूमिका निर्वाह गर्ने पनि उनले बताएका छन् ।