वैकल्पिक राजनीतिबाट उदाएका आरेन

अनलाइनसमय |
२६ फागुन २०८२
वैकल्पिक राजनीतिबाट उदाएका आरेन

कुल नारायण श्रेष्ठ
काठमाडौं, २६ फागुन । खोटाङको पहाडी गाउँ सुम्देबाट सुरु भएको उनको यात्रा अहिले संसद्सम्म आइपुगेको छ । जातीय विभेदविरुद्ध सडकमा नाराबाजी गर्ने उनी आज प्रतिनिधिसभामा जनताको आवाज बोल्ने सांसद बनेका छन् ।

उनी हुन्, खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका २९ वर्षीय आरेन राई । हालै सम्पन्न निर्वाचनमा उनी खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहेका राईले १६ हजार ६१२ मत प्राप्त गर्दै संसद्को यात्रा तय गरेका हुन् ।

उनको राजनीतिक यात्रा परम्परागत नेताजस्तै सत्ताको सीढी चढ्दै सुरु भएको होइन । बरु समाजका असमानता, जातीय विभेद र पहिचानका मुद्दामा आवाज उठाउने आन्दोलनबाट उनी सार्वजनिक जीवनमा चिनिन थाले । सानै उमेरदेखि विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध भएर काम गर्दै आएका राईलाई धेरैले सामाजिक अभियानकर्मीका रूपमा चिन्थे ।

२०७४ सालसम्म उनी राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए । सामाजिक मुद्दामा काम गर्दै जाँदा उनी पहिचानवादी आन्दोलनसँग पनि नजिकिए । यही क्रममा उनले विसं २०८० मा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीमा आबद्ध भई सर्वोच्चसभा सदस्य तथा आर्थिक विभाग प्रमुखको जिम्मेवारी सम्हाले ।

तर राजनीतिक यात्राले फेरि अर्को मोड लियो । उनले उक्त पद परित्याग गर्दै नयाँ बनेको श्रम संस्कृति पार्टी रोजे । पार्टीमा प्रवेशसँगै उनलाई केन्द्रीय महासचिवको जिम्मेवारी दिइयो । नयाँ पार्टी भए पनि जनतामाझ वैकल्पिक राजनीति गर्ने अपेक्षा बोकेर उनी चुनावी मैदानमा उत्रिए ।

उनको व्यक्तिगत जीवन पनि सामाजिक सन्देश बोकेको छ । जातीय विभेदविरुद्ध आवाज उठाउँदै आएका राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी प्रमिला बिसुका (सार्की)सँग अन्तरजातीय विवाह गरेका छन् । उनले यसलाई केवल व्यक्तिगत निर्णय नभई समाजमा समानता र मानवीय सम्मानको सन्देशका रूपमा लिएका छन् ।

राजनीतिक विश्लेषकहरूले खोटाङमा पुराना दलहरूबीच प्रतिस्पर्धा हुने अनुमान गरेका थिए । दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार मैदानमा थिए । तर निर्वाचन परिणामले मतदाताको चाहना फरक रहेको देखायो । स्थापना भएको तीन महिनामै श्रम संस्कृति पार्टीका उम्मेदवार राईले जित हात पारे । यसले नयाँ राजनीतिक विकल्पप्रति जनतामा देखिएको उत्साह र समर्थनले यो सफलता सम्भव भएको हो ।

राई आफ्नो जितलाई व्यक्तिगत उपलब्धिभन्दा पनि जनताको भरोसाको परिणाम ठान्छन् । हाल स्नातक तहमा अध्ययनरत उनी संसद्मा पुगेपछि ‘भुइँमान्छे’को आवाज बुलन्द गर्ने प्रतिबद्धता जनाउँछन् । उनका अनुसार विकास भनेको सडक, भवन वा पूर्वाधार मात्र होइन, समाजमा समानता, सम्मान र अवसरको सुनिश्चितता पनि हो । चुनाव जितेर काठमाडौं बसेर विकास नहुने भन्दै जनताको घरआगनमा आएर समस्या बुझ्ने, उनीहरूको माग अनुसार काम गर्नुपर्ने उनले चुनाव अघि भनेका थिए । नेतृत्वमा अब युवाहरू आउनुपर्ने उनको भनाइ छ । साथै सधै आफू देश र जनहितका लागि चट्टान झै उभिने प्रतिज्ञा गरेका थिए ।

सुम्देको सानो गाउँबाट सुरु भएको आरेन राईको यात्रा अहिले सिंहदरबारको ढोकासम्म पुगेको छ । सडक आन्दोलनबाट चिनिएका उनी अब संसद्मा पुगेपछि पनि त्यही मुद्दा—समानता, पहिचान र सामाजिक न्यायलाई अघि बढाउने वाचा गरिरहेका छन् ।

अब हेर्न बाँकी छ, आन्दोलनमा गुञ्जिएको उनको आवाज संसद्भित्र कत्तिको शक्तिशाली रूपमा सुनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस