काठमाडौं, १९ फागुन । अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वको बढ्दो तनावकाबीच आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै बहराइन, जोर्डन र इराक छाड्न निर्देशन जारी गरेको छ । गैर–आकस्मिक सेवामा कार्यरत अमेरिकी सरकारी कर्मचारी र उनीहरूका परिवारलाई सकेसम्म तत्काल ती देशबाट बाहिरिन भनिएको हो ।
मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको सूचनाअनुसार क्षेत्रीय सुरक्षाको अवस्था जटिल बन्दै गएकाले यस्तो कदम चालिएको हो । विशेषगरी इरान र अमेरिका–इजरायलबीच बढ्दो सैन्य तनावका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रा सचेतना (ट्राभल एड्भाइजरी) पनि अद्यावधिक गरिएको छ । अमेरिकी नागरिकलाई ती मुलुकहरूमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।
विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा गैर–आकस्मिक कर्मचारीहरूलाई फिर्ता बोलाउने निर्णय सुरक्षा मूल्याङ्कनका आधारमा गरिएको उल्लेख छ । यसअघि सोमबार इराकका हकमा पनि सुरक्षा चिन्ताका कारण गैर–आकस्मिक कर्मचारीलाई देश छाड्न आदेश दिइएको थियो ।
यता, इरानले अमेरिका–इजरायलको संयुक्त आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ । इरानको रिभोलुसनरी गाड्र्सले बहराइनस्थित अमेरिकी हवाई अड्डालाई निशाना बनाएको दाबीसमेत गरेको छ ।
इराकको राजधानी बग्दादमा सयौँ प्रदर्शनकारीले अमेरिकी दूतावास रहेको ग्रिन जोन क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका छन् । त्यस्तै, जोर्डनको राजधानी अम्मानस्थित अमेरिकी दूतावासले अज्ञात सुरक्षा खतराका कारण अस्थायी रूपमा आफ्ना कर्मचारीलाई खाली गराएको जनाएको छ ।
यसैबीच साउदी अरबले इरानबाट प्रहार गरिएका एक दर्जनभन्दा बढी क्षेप्यास्त्र अवरोध (इण्टरसेप्ट) गरिएको जानकारी दिएको छ ।