मध्यपूर्वमा युद्धको जोखिम बढ्दै

अनलाइनसमय |
१७ फागुन २०८२
मध्यपूर्वमा युद्धको जोखिम बढ्दै

काठमाडौं, १७ फागुन । मध्यपूर्वमा तनावको अवस्था बढ्दै गएको छ । संयुक्त रूपमा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेसँगै क्षेत्रीय शक्ति सन्तुलनमा हलचल देखिएको हो । आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको केही घण्टाअघि इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरे ।

शनिबार बिहानदेखि सुरु भएको संयुक्त सैन्य अभियानअन्तर्गत तेहरानसहित विभिन्न रणनीतिक स्थलहरूमा प्रहार गरिएको जनाइएको छ । इजरायली सेनाले करिब २०० लडाकु विमान परिचालन गरी ५०० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको दाबी गरेको छ । सैन्य अधिकारीहरू भेला भएका क्षेत्र र मिसाइल प्रक्षेपण केन्द्रहरू मुख्य निशानामा परेका थिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले थप कारबाही जारी रहने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ‘आसन्न खतरा नियन्त्रण गर्न’ अभियान सुरु गरिएको उल्लेख गर्दै आवश्यक परे अझ धेरै बमबारी जारी रहने बताएका थिए । उनले खामेनीलाई इतिहासकै ‘सबैभन्दा खतरनाक व्यक्तिमध्ये एक’ भन्दै मृत्युको घोषणा गरेका थिए । इरानमा उनको निधनपछि ४० दिन राष्ट्रिय शोक र सात दिन सार्वजनिक बिदा घोषणा गरिएको छ ।

इरानी स्रोतका अनुसार आक्रमणमा खामेनीका पारिवारिक सदस्य र केही उच्च सुरक्षा अधिकारीहरूको पनि ज्यान गएको छ । रिभोलुसनरी गार्डका प्रमुख जनरल मोहम्मद पाकपुर तथा सुरक्षा सल्लाहकार अली शामखानी मारिएको दाबी गरिएको छ । खामेनीको निधनपछि राष्ट्रपति मसुद पेजेस्कियनसहित दुई वरिष्ठ नेताले अस्थायी रूपमा नेतृत्व सम्हाल्ने जनाइएको छ ।

यस घटनापछि इरानले प्रतिउत्तरस्वरूप मिसाइल र ड्रोन आक्रमण सुरु गरेको जनाएको छ । इजरायलका विभिन्न सहर लक्षित गरिएको र केही स्थानमा क्षति तथा मानवीय हताहती भएको विवरण सार्वजनिक भएको छ । खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डाहरू पनि निशानामा परेको दाबी गरिएको छ ।

तनाव बढ्दै जाँदा रणनीतिक महत्वको होर्मुज जलडमरूमध्य बन्द गर्ने तयारी इरानले थालेको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस