काठमाडौं, १३ फागुन । जापानका रक्षामन्त्री शिनजिरो कोइजुमीले ताइवान नजिक रहेको आफ्नो पश्चिमी दुर्गम टापुमा सन् २०३१ मार्चसम्म सतहदेखि आकाश क्षेप्यास्त्र प्रणाली तैनाथ गर्ने घोषणा गरेका हुन् । कोइजुमीले मंगलबार यस्तो घोषणा गरेका हुन्, जुन चीनले २० जापानी कम्पनी तथा संस्थामाथि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै निर्यात नियन्त्रण लगाएपछि आएको हो ।
यद्यपि, सन् २०२२ मा यो घोषणा गरिएयता योनागुनी टापुमा क्षेप्यास्त्र तैनाथ गर्ने समयसीमा जापानले पहिलो पटक स्पष्ट रूपमा सार्वजनिक गरेको हो । चीनले स्वशासित ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ र पुनःएकीकरणका लागि बल प्रयोग गर्न सक्ने सम्भावनालाई अस्वीकार गरेको छैन । योनागुनी टापु सफा मौसममा ताइवानको तटबाट देख्न सकिन्छ र यो ताइवानबाट करिब ११० किलोमिटर (६८ माइल) टाढा अवस्थित छ ।
गत नोभेम्बरमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमाथि आक्रमण भएमा जापानले आफ्नो आत्मरक्षा बल सक्रिय गर्न सक्ने संकेत दिएपछि टोकियो र बेइजिङबीचको सम्बन्ध झन् तनावपूर्ण बनेको थियो । ताइवानमाथि कुनै आक्रमण भएमा वासिङ्टन र बेइजिङबीच प्रत्यक्ष सैन्य द्वन्द्व निम्त्याउन सक्छ र त्यसको प्रभाव क्षेत्रका अन्य अमेरिकी सहयोगी जापानसम्म फैलिन सक्छ ।
ताकाइचीले संसदमा दिएको अभिव्यक्तिपछि चीनसँगको सम्बन्ध पछिल्ला केही वर्षयताकै न्यून स्तरमा झरेको थियो । त्यसपछि बेइजिङले युद्धपोत पठाउने, दुर्लभ धातु निर्यातमा नियन्त्रण लगाउने, चिनियाँ पर्यटक आगमन घटाउने, सांगीतिक कार्यक्रम रद्द गर्ने र आफ्ना पाण्डासमेत फिर्ता लैजानेजस्ता विभिन्न माध्यमबाट दबाब बढाउँदै आएको छ ।
चीनले कोइजुमीको घोषणाप्रति तत्काल प्रतिक्रिया दिएको छैन । तर, नोभेम्बरमा कोइजुमीले योनागुनी भ्रमण गर्दा बेइजिङले जापानले क्षेत्रीय तनाव सिर्जना गर्दै सैन्य द्वन्द्व उक्साइरहेको आरोप लगाएको थियो । त्यसको केही दिनमै चीनले आफ्नो असन्तुष्टि जनाउन टापु नजिक ड्रोन उडाएको थियो, जसको प्रत्युत्तरमा जापानले लडाकु विमान परिचालन गरेको थियो ।
हालका यी घटनाक्रमहरू ताकाइचीले यसै महिनाको सुरुतिर संसदीय निर्वाचनमा ठूलो जित हासिल गरेपछि आएका हुन् ।