उत्तर कोरियाको सत्तारूढ पार्टी वर्कर्स पार्टीको महासचिवमा किम जोङ उन पुन: नियुक्त

अनलाइनसमय |
११ फागुन २०८२
उत्तर कोरियाको सत्तारूढ पार्टी वर्कर्स पार्टीको महासचिवमा किम जोङ उन पुन: नियुक्त

काठमाडौं, ११ फागुन । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीले पुनः एकपटक किम जोङ उनलाई महासचिव (जनरल सेक्रेटरी) पदमा चयन गरेको छ । सन् १९४० को दशकको अन्त्यदेखि किम परिवारले नै उक्त अधिनायकवादी शासन चलाउँदै आएको छ ।

राज्य सञ्चालित समाचार एजेन्सी केसीएनएका अनुसार किमको नेतृत्वमा उत्तर कोरियाले आणविक शक्तिलाई आधार बनाउँदै आफ्नो युद्ध प्रतिरोध क्षमता उल्लेखनीय रूपमा सुधारगरेको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू सामना गरिरहेको उत्तर कोरियाले आफ्नो आणविक क्षमता विस्तार गरिरहेकै छ र निषेधित अन्तरमहादेशीय क्षेप्यास्त्रहरूको नियमित परीक्षण गर्दै आएको छ ।

सन् २०११ मा आफ्ना पिता किम जोङ–इलको निधनपछि सत्ता सम्हालेका किम जोङ–उनले आणविक हतियार कार्यक्रमलाई प्राथमिकता दिएका छन् । यसले प्योङयाङलाई पश्चिमी देशहरू, विशेष गरी अमेरिकाका लागि अझ ठूलो चुनौती बनाएको छ । कंग्रेसको चौथो दिनसम्म चलिरहेको बैठकमा किमले देशको हतियार कार्यक्रमको आगामी चरणबारे घोषणा गर्ने अपेक्षा गरिएको छ । कंग्रेस सुरु हुनुअघि उत्तर कोरियाले आणविक क्षमता सम्पन्न भनिएका विभिन्न रकेट लन्चर सार्वजनिक गरेको थियो । पछिल्लो दशकमा प्रत्येक पाँच वर्षमा एकपटक आयोजना हुने यो कंग्रेस फेब्रुअरी १९ देखि सुरु भएको हो ।

केसीएनएका अनुसार करिब ५ हजार पार्टी सदस्यहरूको सहभागिता रहेको यो बैठकले उत्तर कोरियाको राजनीतिक शक्ति संरचनाबारे दुर्लभ झलक प्रदान गर्छ, किनकि त्यहाँको शासन व्यवस्था बाहिरका विश्लेषकहरूका लागि निकै अस्पष्ट छ । यी बैठकहरूलाई देशको सबैभन्दा महत्वपूर्ण राजनीतिक कार्यक्रम मानिन्छ र यसबाट विदेश नीति देखि आणविक महत्वाकांक्षासम्मका प्राथमिकताबारे संकेत पाइन्छ ।

यद्यपि किम उत्तर कोरियाको शीर्ष नेतृत्वमै कायम छन्, सन् २०२१ को अघिल्लो बैठकपछि पार्टी कंग्रेसको प्रेसीडियम (कार्यकारी समिति) पुनर्गठन गरिएको छ । राज्य सञ्चारमाध्यमका अनुसार ३९ सदस्यीय समितिमध्ये आधाभन्दा बढी सदस्य परिवर्तन गरिएको छ । गत साता उद्घाटन सम्बोधनका क्रममा किमले देशको अर्थतन्त्र सुदृढ गर्ने र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसलाईगम्भीर र अत्यावश्यक ऐतिहासिक कार्य बताएका थिए ।

यसैबीच, किमकी छोरी जु ए सार्वजनिक कार्यक्रममा देखिने वा नदेखिने विषयमा पनि सबैको ध्यान केन्द्रित भएको छ । यस महिनाको सुरुमा दक्षिण कोरियाको गुप्तचर निकायले किमले जु एलाई आफ्नो उत्तराधिकारीका रूपमा छनोट गरेको जनाएको थियो । करिब १३ वर्षकी मानिने किम जु ए हालका वर्षहरूमा आधिकारिक कार्यक्रमहरूमा सक्रिय रूपमा देखिन थालेकी छन् । क्षेप्यास्त्र निरीक्षणदेखि लिएर बेइजिङमा आयोजित सैन्य परेडसम्म बुवासँगै सहभागी हुँदै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस