• ताजा समाचार, विश्व

    बेलायतमा आगामी जुलाई ४ मा चुनावको घोषणा

     143 Views
    बेलायतमा आगामी जुलाई ४ मा चुनावको घोषणा

    काठमाडौं, १० जेठ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ मा चुनावको घोषणा गरेका छन् । नियमित तालिकाअनुसार सन् २०२५ मा निर्वाचन हुनुपर्नेमा प्रधानमन्त्री सुनकले ७ महिनाअघि नै आम निर्वाचन घोषणा गरेका हुन् ।

    उनले बुधबार राति लण्डनस्थित डाउनिङ्ग स्ट्रिटबाट चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ । राजा चार्ल्स तेस्रोलाई चुनावको मितिबारे जानकारी गराउनासाथ वर्तमान संसद भंग गरिने छ । त्यसपछि चुनावी प्रक्रिया सुरु हुने छ । सम्भवतः शुक्रबारदेखि चुनावी प्रक्रिया सुरु हुनेछ ।

    उनले २०२२ अक्टुबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । बेलायतमा जनवरी २०२५ मा आम चुनाव हुने सम्भावना थियो । चुनावको मिति घोषणाका लागि उनलाई डिसेम्बर महिनासम्म समय थियो ।

    सामान्यतया बेलायतमा बिहीबारको दिन आम निर्वाचन हुने गरेको थियो । यो अभ्यास २७ अक्टोबर १९३१ देखि गरिएको थियो । त्यसअघि मंगलबारको दिन चुनाव हुने गरेको थियो । यसपटक पनि बिहीबार पारेर मिति घोषणा गरिएको छ ।

    बेलायतको अभ्यास अनुसार संसद्को पहिलो बैठकको पाँचौं वार्षिकोत्सवपछि मात्र संसद् विघटन हुन्छ । वर्तमान संसदको वार्षिकोत्सव १७ डिसेम्बर २०२४ मा हुने तय भएको थियो । संसद् विघटनपछि निर्वाचनको तयारीका लागि २५ कार्यदिन दिइएको छ । यदि उचित प्रक्रिया अपनाएको भए बेलायतमा सन् २०२५ को जनवरी २८ सम्म चुनाव हुनेथियो ।

    यसमा तपाइको मत

    Facebook Comment