काठमाडौं, ६ फागुन । इरानले तेहरानको आणविक कार्यक्रमसम्बन्धी विवाद समाधान गर्न अमेरिका सँग मुख्य मार्गदर्शक सिद्धान्तहरूमा समझदारी भएको जनाएको छ ।
जेनेभामा भएको अप्रत्यक्ष वार्तापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले अझै धेरै काम बाँकी रहेको बताएका छन् । अमेरिकाले भने प्रगति भएको प्रतिक्रिया दिएको छ ।
मध्यस्थकर्ता ओमानका विदेशमन्त्री बद्र अलबुसैदीले वार्ता “साझा लक्ष्य र सम्बन्धित प्राविधिक विषय पहिचान गर्ने दिशामा राम्रो प्रगतिसहित सम्पन्न भएको” बताएका छन् ।
यो बैठक इरानले सरकारविरुद्धका प्रदर्शनमाथि गरेको घातक दमन र यसको आणविक गतिविधिबारे अमेरिकाले बारम्बार दिएको सैन्य चेतावनीपछि भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरान सम्झौता गर्न इच्छुक रहेको आफूलाई विश्वास लागेको बताएका थिए ।
अमेरिका र उसका युरोपेली सहयोगीहरूले इरान आणविक हतियार विकासतर्फ अघि बढिरहेको आशंका गर्दै आएका छन्, जसलाई तेहरानले सधैं अस्वीकार गर्दै आएको छ ।
मंगलबार स्विट्जरल्याण्डको जेनेभास्थित ओमानका राजदूतको निवासमा भएको वार्ताअघि इरानले आफ्नो ध्यान मुख्यतः आफ्नो आणविक कार्यक्रम र अमेरिकाले लगाएका आर्थिक प्रतिबन्ध हटाउने सम्भावनामा केन्द्रित हुने जनाएको थियो । यसअघि वाशिङ्टनले इरानको क्षेप्यास्त्र विकास जस्ता अन्य विषयहरू पनि छलफल गर्न चाहेको संकेत दिएको थियो । जेनेभामा कुन–कुन विषयमा छलफल भयो तत्काल थाहा भएको छैन ।
फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने, ‘केही हिसाबले वार्ता राम्रो भयो; उनीहरू फेरि भेट्न सहमत भए । तर अर्को हिसाबले हेर्दा राष्ट्रपतिद्वारा तय गरिएका केही ‘रेड लाइन’हरू इरानी पक्षले अझै स्वीकार गर्न र त्यसमा काम गर्न तयार देखिएनन् ।’
यी वार्तालाई ‘अत्यन्त महत्वपूर्ण’ भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अप्रत्यक्ष रूपमा संलग्न हुने बताएका थिए र यसपटक तेहरान वार्ताका लागि प्रेरित भएको संकेत दिएका थिए ।
एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मलाई लाग्दैन कि उनीहरू सम्झौता नगर्दाको परिणाम चाहन्छन् ।’ उनले गत गर्मीयाममा वार्ता कठोर बनेपछि अमेरिकाले इरानका आणविक स्थलहरूमा बमबारी गरेको प्रसंग उल्लेख गर्दै इरानले त्यसको परिणाम बुझिसकेको बताएका थिए ।
‘हामीले बी–२ स्टेल्थ बमवर्षक पठाएर उनीहरूको आणविक क्षमता ध्वस्त पार्नुको सट्टा सम्झौता गर्न सक्थ्यौं । तर हामीले बी–२ पठाउनुप¥यो,’ उनले भने, ‘म आशा गर्छु, उनीहरू अझ व्यावहारिक हुनेछन् ।’