काठमाडौं, ७ माघ । नेपालको सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस्तो ऋण २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो ।
चालू आर्थिक वर्ष (आव)को पहिलो महिना साउनमा २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेको ऋण पुस मसान्तसम्ममा एक खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले बढेको देखिन्छ । जसमध्ये वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशत अर्थात १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख रुपैयाँ छ । बाँकी ४७ प्रतिशत अर्थात् १३ खर्ब १९ अर्ब १३ करोड १० लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ ।
हाल सार्वजनिक ऋण कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलव ९५ प्रतिशत बराबर पुगेको छ ।
जीडीपीको अनुपातमा आन्तरिक ऋण २१ दशमलव ६० प्रतिशत र वैदेशिक ऋण २४ दशमलव ३५ प्रतिशत पुगेको कार्यालयले जनाएको छ ।
सरकारले चालू आवमा पाँच खर्ब ९५ अर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण उठाउने लक्ष्य लिएको छ । अर्धवार्षिक समीक्षा अवधिसम्ममा भने दुई खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ ऋण परिचालन भइसकेको छ ।
यसैबीच सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा पनि उल्लेख्य खर्च भएको छ । सरकारले चालू आवका लागि ऋणको साँवा ब्याज तिर्न चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा पुस मसान्तसम्म एक खर्ब ८७ अर्ब १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।