इतिहासमै पहिलोपटक चीनको जीडीपी १४० ट्रिलियन युआन नाघ्यो

अनलाइनसमय |
५ माघ २०८२
इतिहासमै पहिलोपटक चीनको जीडीपी १४० ट्रिलियन युआन नाघ्यो

काठमाडौं, ५ माघ । चीनले आर्थिक लक्ष्य पूरा गर्न सफल भएको छ । चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२५ मा वार्षिक आधारमा ५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक ब्यूरो (एनबीएस)ले सोमबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकले यो जानकारी दिएको हो ।

एनबीएसका अनुसार, गत वर्ष चीनको जीडीपी १४०.१८७९ ट्रिलियन युआन (झन्डै २०.०१ ट्रिलियन अमेरिकी डलर) को कीर्तिमानी स्तरमा पुगेको छ, यो इतिहासमै पहिलोपटक १ सय ४० ट्रिलियन युआनको सीमा नाघेको हो ।

चौथो त्रैमासिकमा अर्थतन्त्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले विस्तार भएको छ भने अघिल्लो त्रैमासिकको तुलनामा १.२ प्रतिशतले वृद्धि भएको एनबीएसले जनाएको छ । जटिल घरेलु तथा बाह्य वातावरणका बाबजुद अर्थतन्त्र दबाबबीच अघि बढ्दै उच्च गुणस्तरीय विकासमा नयाँ प्रगति हासिल गरेको एनबीएसले उल्लेख गरेको सिन्ह्वामा उल्लेख छ ।

साथै, सन् २०२५ मा आर्थिक तथा सामाजिक विकासका मुख्य लक्ष्य र कार्यहरू पूर्ण रूपमा हासिल भएको जनाउँदै १४औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) सफलतापूर्वक सम्पन्न भएको एनबीएसले बताएको छ ।

बाह्य वातावरणमा अचानक आएको परिवर्तन र बढ्दो घरेलु कठिनाइ तथा चुनौतीहरूको सामना गर्दै चीनले अझ सक्रिय र प्रभावकारी म्याक्रो नीतिहरू अवलम्बन गरेको, जसले प्रतिकूल बाह्य झट्कालाई न्यूनिकरण गर्न र प्रतिकूल परिस्थितिमा पनि विकासको आधार स्थिर राख्न मद्दत गरेको राष्ट्रिय तथ्यांक ब्यूरोका प्रमुख काङ यीले पत्रकार सम्मेलनमा बताए ।

“चीनजस्तो अति–ठूलो अर्थतन्त्रका लागि जोखिम र चुनौतीहरू एकआपसमा गाँसिएको अवस्थामा यस्तो स्थिर विकास हासिल गर्नु सजिलो कुरा होइन,” काङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस