काठमाडौं, ४ माघ । पछिल्लो दुई महिनायता घरजग्ग्गा कारोबारमा सुधार देखिएको छ । गत कात्तिकसम्म सुस्त रहेको घरजग्गा कारोबार मंसिरर पुसमा भने बढेको हो ।
देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पुसमा मात्रै ५१ हजार ८८८ घरजग्गाको लिखत पारित भएको छ, जुन गत वर्षको सोही महिनाको तुलनामा १९ दशमलव ६१ प्रतिशतले बढी हो । गत वर्षको पुसमा ४३ हजार ३७९ घरजग्गाको कारोबार भएको थियो ।
चालू आवको पसुमा मात्रै घरजग्गा कारोबारबाट ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । गत मंसिरमा यसबाट ४ अर्ब ८४ करोडका आम्दानी उठेको थियो । कारोबार बढेसैगै यसबाट हुने आम्दानीमा पनि केही सुधार देखिएको छ । पुसमा सेवा करबाट ३७ करोड ७७ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुर २ अर्ब ७६ करोड ९५ लाख र पुँजीगत लाभकरबाट १ अर्ब ९८ करोड १८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
चालू आवको साउनमा ४३ हजार ८३५ घरजग्गाको कारोबार भएको थियो, तर त्यसयता कात्तिकसम्म लगातार यस्तो कारोबार ओरालो लाग्यो । भदौमा घटेर ३२ हजार ७२९ घरजग्गाको कारोबार असोजमा फेरि घटेर ३० हजारमा झरेको थियो । कात्तिकमा घरजग्गाको लिखत पारित घटेर २८ हजारमा सीमित भएको थियो । कात्तिक अन्तिम साता सरकारले सरकारले भू–उपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुलाएसँगै मंसिरमा यस्तो कारोबार ५० हजार नाघेको थियो । यसअघि उक्त नियमावलीमा भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहमा २०८२ असार मसान्तदेखि कित्ताकाट बन्द हुने उल्लेख थियो, जसले करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार प्रभावित हुँदै आएको थियो ।
यसैगरी पुसमा सबैभन्दा धेरै घरजग्गाको कारोबार गर्नेमा बेलवारी, मोरङको मालपोत कार्यालय छ । यो कार्यालयले पुसमा १ हजार ७३३ घरजग्गा लिखत पारित गरेको छ । मोरङपछि सुनसरीको इनरूवा मालपोत कार्यालयबाट १ हजार ७१५ वटा घरजग्गाको कारोबार भएको छ । त्यस्तै, झपाको भद्रपुर कार्यालयबाट १ हजार ६८३, धनुषाको जनकपुरधाम कार्यालयबाट १ हजार ५७२, धनगढी कार्यालबाट १ हजार २२३, र दाङ तुलसीपुर कार्यालयबाट १ हजार १९८ वटा घरजग्गाको कारोबार भएका छन् ।
काठमाडौं उपत्यकाको हकमा घरजग्गाको किनबेच सबैभन्दा बढी भक्तपुरले गेरेको देखिन्छ । भक्तपुर मालपोतले पुसमा १ हजार १४४ घरजग्गाको लिखत पारित गरेको छ । त्यस्तै लगनखेल मालपोतले ९५२, कलङ्की मालपोतले ७७७ र चाबहिल मालपोतले ५६७ वटा घरजग्गाको कारोबार गरेको छ ।