काठमाडौं, २ माघ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को ६ महिनामा विभिन्न क्षेत्रका लागि विदेशी लगानीकर्ताले ४३ अर्बभन्दा बढी लगानी प्रतिबद्धता जनाएका छन् ।
उद्योग विभागको तथ्याङ्क अनुसार चालू आवको पुससम्ममा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट), स्वीकृति र शेयर खरिदलगायतमा ५०७ उद्योगका लागि ४३ अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ, जुन गत आवको सोही महिनाको तुलनामा ५६ दशमलव ४३ प्रतिशतले बढी हो । गत आवको पुससम्ममा यस्तो प्रतिबद्धता २७ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ मात्रै आएको थियो ।
चालू आवको पुससम्ममा अप्रुभल रूटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा अप्रुभल रूटबाट १६१ उद्योगका लागि ३६ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । त्यस्तै अटोमेटिक रूटबाट ३१४ उद्योगका लागि झण्डै ३ अर्ब र शेयर खरिदबाट ३२ उद्योगमा ३ अर्ब ९८ करोड ६६ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
६ महिनामा ४६० वटा साना उद्योग, ८ वटा मझैला र ७ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा २० हजार १२२ जनाले रोजगारी पाउनेछन् ।
प्रतिबद्धताको ७९.२५ प्रतिशत कृषि क्षेत्रमा
विभागका अनुसार चालू आवको पुससम्ममा कृषि क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा अप्रुभल रूटबाट आएको कुल लगानी प्रतिबद्धतामध्ये कृषि क्षेत्रमा ७९ दशमलव २५ प्रतिशत अर्थात् २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ प्राप्त भएको छ । यो क्षेत्रका १३ वटा उद्योगका लागि यस्तो प्रतिबद्धता आएको हो ।
त्यस्तै पर्यटन क्षेत्रमा १० अर्ब ५४ करोड २० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो प्रतिबद्धता भित्रिए पर्यटन क्षेत्रका १४५ उद्योग स्थापना हुनेछन् । पुससम्ममा आईसीटी क्षेत्रमा २५७ उद्योगका लागि १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।परियोजनाको हिसाबले यो क्षेत्र सबैभन्दा अगाडि छ ।