काठमाडौं, ३० पुस । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलवार हेटौंडामा सम्पन्न सभाले शेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ, जसमध्ये १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस सेयर रहेको छ । वित्तीय पहुँच नपुगेका ठाउँसम्म सेवा विस्तार गर्ने यस लघुवित्तको रणनीति छ ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले छिमेक लघुवित्तको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राखेको थिए । साथै वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागि प्रकाश राज विष्ट निर्विरोध निर्वाचित भएका छन् ।
गरिब र सीमान्तकृत महिलाको आर्थिक पहुँच विस्तारमा छिमेक लघुवित्तको महत्वपूर्ण योगदान छ । संस्थाले प्र्रवाहित कर्जाको सदुपयोग, उत्पादनशीलता जस्ता विषयमा आफ्ना सदस्यलाई सुसूचित गर्दै आएको छ ।
छिमेक लघुवित्तको मुख्य उद्देश्य गरिब र सीमान्तकृत महिलालाई वित्तीय सेवामा पहुँच, बचतको संस्कार प्रवद्र्धन, साना उद्यम विकासमा सहयोग र सदस्यहरूको सामाजिक सुरक्षा सुदृढ बनाउनु हो । आफ्ना सदस्यको अधिकतम हित तथा अप्ठ्यारो परिस्थितिमा संस्थाले गरेको सहजीकरणकै कारण यस संस्थाप्रति सदस्य ऋणीहरूको अपनत्व बढेको छ ।
संस्थाले आफ्नो सेवाको दायरा बढाउँदै सदस्यहरूको आर्थिक–सामाजिक अवस्था सुधार्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । छिमेकले प्रविधिमा आधारित लघुवित्त वितरण प्रणालीलाई अपनाउँदै आफ्नो पहुँच विस्तारको लक्ष्य राखेको छ । डिजिटल माध्यमबाट समेत वित्तीय साक्षरता एवं वित्तीय सेवा दिन दिन थालेको यस लघुवित्तले छुट्टै विभाग नै खडा गरेर सदस्यहरूको व्यावसायिकता विकासमा काम गर्दै आएको छ ।
बोनस शेयर वितरणपछि छिमेक लघुवित्तको चुक्तापुँजी ३ अर्ब ६१ करोड ७२ लाख पुग्नेछ । देशभरका ६९ जिल्लामा उपस्थिति रहेको यस संस्थाले १९७ ओटा शाखामार्फत दूरदराजसम्मका ४ लाख २९ हजारभन्दा बढी महिला सदस्यलाई वित्तीय सेवा दिइरहेको छ । गत आर्थिक वर्षसम्ममा संस्थाको निक्षेप तथा बचत परिचालन ३९ अर्ब ४२ करोड र लगानीमा रहेको कर्जा ४१ अर्ब २३ करोड छ ।