काठमाडौं, २७ पुस । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो पाँच महिनामा सवारीसाधन किन्न चाहने उपभोक्ता र व्यवसायीहरूका लागि बैंक तथा वित्तीय संस्थाले दिने हायर पर्चेज कर्जा बढेको छ । व्यावसायिक/व्यक्तिगत कार, ट्रक, बस, हेभी इक्विपमेन्ट लगायत सवारीसाधन तथा कृषि मेसिनरी खरिद गर्नका लागि दिइने यस्तो कर्जा बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत साउनमा १ खर्ब २८ अर्ब ६९ करोड रहेको यस्तो कर्जा मंसिरसम्म आइपुग्दा ६ दशमलव १ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ५८ करोड रुपैयाँमा पुगेको हो ।
आवको पहिलो ५ महिनामा व्यावसायिक प्रयोजनका हायर पर्चेज कर्जा ७ प्रतिशतले बढेको देखिन्छ । गत मंसिर मसान्तसम्ममा यस्तो कर्जा ९२ अर्ब १४ करोड रुपैयाँ रहेको छ, जुन गत सायनमा ८६ अर्ब १० करोड रुपैयाँ थियो ।
सो अवधिमा व्यक्तिगत प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने हायर पर्चेज कर्जा पनि ४ दशमलव ३ प्रतिशतले बढेको देखिन्छ । गत साउनमा ४२ अर्ब ५८ करोड ८९ लाख प्रवाह भएको कर्जा गत मंसिरसम्ममा ४४ अर्ब ४३ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
बढ्दो हायर पर्चेज कर्जा र सवारीसाधनको आयातले अर्थतन्त्र चलायमान हुन थालेको संकेत गरेको देखिन्छ ।
