काठमाडौं, २५ पुस । नेपालको बाह्य आर्थिक सूचकांकमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको वित्तीय प्रतिवेदनअनुसार मंसिरसम्ममा शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको मंसिरसम्ममा १ अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालू आवको यसै अवधिमा २ अर्ब ९८ करोडले बचतमा रहेको छ ।
यसैगरी, समीक्षा अवधिमा चालू खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा १ अर्ब १८ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा २ अर्ब ५४ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।
यसैगरी, चालू आवको मंसिरसम्ममा ७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.६ अर्ब ३ करोड रहेको थियो ।