काठमाडौं, २५ पुस । चालू आर्थिक वर्ष (आव)को पाँच महिनासम्ममा विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार गरेको चालू आवको पाँच महिनाको वित्तीय प्रतिवेदनअनुसार मंसिरसम्ममा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ, जुन असारमसान्त यताको तुलनामा १९ दशमलव ६ प्रतिशतले वृद्धि हो । २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २८ खर्ब ६६ अर्ब ४७ करोड रहेको छ । २०८२ असार मसान्तमा राष्ट्र बैंकमा यस्तो सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रहेको थियो ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा मंसिरससम्ममा २७.४ प्रतिशतले वद्धि भई ३ खर्ब ३५ अर्ब कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेकोछ ।
यसैगरी, आव २०८२÷८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ । २०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनको अनुपात ५२.४ प्रतिशत, कुल आयात १५१.९ प्रतिशत र विस्तृत मुद्राप्रदाय ३९.४ प्रतिशत रहेको छ ।