काठमाडौं, २४ पुस । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औं वार्षिक साधारणसभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको छ ।
उक्त साधारणसभाले सञ्चालक समितिले यसअघि नै प्रस्ताव गरे बमोजिम आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।
त्यसैगरी सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीआ आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्ति, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव–सिर्जित जोखिमबाट हुने आर्थिक संकट न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । बीमा बजारको विकास, पहुँच र विश्वसनीयता कुनै पनि राष्ट्रको अर्थतन्त्रको सूचक हुने उल्लेख गर्दै उनले कम्पनीले २८ वर्षे यात्रामा स्थायित्व, पारदर्शिता र विश्वसनीयतालाई प्राथमिकता दिँदै आएको जानकारी गराए ।
उनले विश्व बजारमा तीव्र आर्थिक प्रतिस्पर्धा रहेको वर्तमान परिवेशमा सूचना प्रविधिको माध्यामबाट छरितो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नु अपरिहार्य बन्दै गएको र यही आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले प्रविधिमैत्री सेवामा जोड दिदै आएको र चालु आर्थिक वर्षमा अझै बढी डिजिटल, सरल र ग्राहक मैत्री बनाउने लक्ष्य रहेको जानकारी गराए ।

कम्पनीले देशको सातै वटै प्रदेशमा रहेका ९० वटा शाखा सञ्जालबाट सेवा दिइरहेको छ, जसमा ५६१ जना कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयर आबद्ध छन् ।
कम्पनी चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँसहित निर्जीवन बीमा कम्पनीहरुमा सबभन्दा ठूलो बीमा कम्पनीको रुपमा रहेको छ ।
आव २०८०/८१ मा निर्जीवन बीमा क्षेत्रको कूल बीमा प्रिमियम आर्जन रु.४५ अरब १७ करोड रहेकोमा गत आवमा ६.७७ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९५ करोड रहेको छ । त्यसैगरी कम्पनीले गत २०८०/८१ मा ३ अर्ब ६३ करोड ६१ लाख बीमा प्रिमियम रहेकोमा गत आवमा ६.३२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ८६ करोड ५९ लाख बीमा प्रिमियम संकलन भएको कम्पनीले जनाएको छ ।
त्यसैगरी समीक्षा वर्षमा कम्पनीले १८ हजार ५ सय बीमा दाबीको २ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने नेपाल सरकारलाई विभिन्न कर बापत ७९ करोड ८७ लाख भुक्तानी गरेको छ ।