काठमाडौं, २२ पुस । सरकारले दलहन र खाद्यान्नको सहयोगमा तयार पारिने मस्यौराको गुणस्तर सम्बन्धी मापदण्ड ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविध तथा गुण नियन्त्रण विभागले तयार पारेको गुणस्तर सम्बन्धी मापदण्ड सोमबार राजपत्रमा प्रकाशित भएको छ ।
सो मापदण्डअनुसार दलहन र खाद्यान्नको सहयोगमा तयार पारिने खाद्य वस्तुलाई मस्यौराको रुपमा परिभाषित गरेको छ ।
‘मस्यौरा भन्नाले मास (कालो दाल) वा अन्य दलहनलाई भिजाएर त्यसको बोक्रा पूर्ण वा आंशिक रुपमा हटाएर पिसेर लेदो बनाएर त्यसमा बोक्रा हटाएर स–सानो टुक्रा पारिएको पिंडालु, कर्कलो, तरुल, आलु, कुभिण्डो, तरकारी तथा सागपातलगायतका खाद्य पदार्थ मिसाई वा नमिसाई स सानो गोलो डल्लो वा अन्य आकारको बनाई प्राकृतिक रुपमा किण्वन (ब्याक्टेरिया र खमीरद्वारा कार्बोहाइड्रेटको टुक्रिने प्रक्रिया) हुन नदिएर उपयुक्त विधी (घाम, सोलार ड्राइङ्ग वा मेकानिकल ड्राइङ्ग) प्रयोग गरी सुकाएर तयार गरिएको खाद्य पदार्थलाई सम्झनु पर्छ,’ राजपत्रमा उल्लेख छ ।
यस्तो मस्यौरामा मसलाजन्य पदार्थ मिसाएको वा नमिसाइएको हुन सक्छ । मस्यौरामा अन्न, भटमास र त्यसबाट बनेका उत्पादनहरुको प्रयोग गर्न भने नपाइने मापदण्ड तोकिएको छ ।
‘मस्यौरा स्वच्छ र सफा हुनुका साथै चारित्रिक स्वाद र बास्ना भएको हुनुपर्ने छ,’ राजपत्रमा भनिएकोछ, यसमा ढुसी तथा किरा लागेको, सडेको तथा ओसिएको हुनु हुँदैन । साथै यसमा कुनै पनि प्रकारको जैविक तथा अजैविक बाह्य पदार्थको उपस्थिति तथा बाह्य रङको प्रयोग गर्न पाइने छैन ।’
जसअनुसार मस्यौरामा जलांशको मात्रा ११ प्रतिशत, कूल भष्म प्रतिशत(सुख्खा तौलको आधारमा ४, डाइलुट हाइड्रोक्लोरिक एसिडमा नघुलने भष्म प्रतिशत(सुख्खा तौलको आधारमा बढीमा) ०.१५ र कूल प्रोटिन प्रतिशत(सुख्खा तौलको आधारमा घटीमा) १५ प्रतिशत हुनुपर्ने गुणस्तरसम्बन्धी मापदण्ड तोकिएको छ ।
मस्यौरामा जीवनाशक बिषादीको अवशेष, हेभी मेटल्स, सुक्षम जीवाणु तथा टक्सिन्सलगायतको हानिकारक तत्वका अवशेषको उपस्थित सरकारले तोकेअनुसारको मापदण्डअनुसार हुने व्यवस्था गरिएको छ ।
त्यसैगरी, मस्यौराको उत्पादन, प्याकेजिङ्ग, ह्याण्डलिङ्ग, भण्डारण तथा ढुवानीमा स्वच्छता तथा गुणस्तर कायमसम्बन्धी सरकारले तोकेअनुसारको मापदण्डअनुसार हुने बताइएको छ ।
राजपत्रमा भनिएको छ, ’उत्पादन भएको मस्यौरालाई सफा र सुख्खा खाद्य ग्रेडको प्याकेजिङ्ग सामग्रीमा सिलवन्दी गरी प्याकेजिङ्ग गर्नुपर्ने छ ।’ साथै प्याकेजिङ्ग गरिएको मस्यौराको लेवलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार तोकेअनुसारको विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने मापदण्डमा उल्लेख छ । उक्त मापदण्ड राजपत्रमा प्रकाशित भएको ९१ औं दिनदेखि कार्यानवनयमा आउने उल्लेख गरिएको छ ।