काठमाडौं, २२ पुस । नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जाको दुरुपयोग नगर्न सरोकारवालालाई आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार वित्तीय चेतना अभिवृद्धिका लागि एक सन्देश जारी गर्दै कर्जालाई सही उद्देश्यमा लगानी गरी आर्थिक अनुशासन कायम गर्न अनुरोध गरेको हो ।
राष्ट्र बैंकले पर्याप्त अध्ययन र तयारीविनै लिइने व्यावसायिक कर्जा अन्ततः कर्जाग्राहीकै लागि बोझ बन्न सक्ने चेतावनी समेत दिएको छ । साथै, व्यवसायिक कर्जालाई विलासिताका वस्तु खरिद वा गैर–उत्पादक क्षेत्रमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता अभ्यास कर्जाको दुरुपयोग भएको उल्लेख गरेको छ ।
केन्द्रीय बैंकले व्यावसायिक कर्जालाई विलासिता वा गैर–उत्पादक प्रयोजनमा प्रयोग गर्नु कर्जाको दुरुपयोग हुने स्पष्ट पारेको छ ।
केन्द्रीय बैंकका अनुसार व्यवसायिक कर्जा व्यवसायको उन्नति र प्रवद्र्धनका लागि एक महत्वपूर्ण साधन हो । त्यसैले यस्तो कर्जा मेसिन तथा उपकरण खरिद, व्यवसायको स्तरोन्नति र आधुनिकीकरण, उत्पादन क्षमता विस्तार, व्यापार विस्तार तथा नयाँ व्यवसायिक अवसर सिर्जना गर्ने उद्देश्यका लागि प्रयोग हुनुपर्नेमा जोड दिइएको छ ।
