काठमाडौं, १७ पुस । गत भदौ २३ र २४ गत भएको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा २३ अर्ब ४७ करोड रुपैयाँ बराबरको ३ हजार ३१६ वटा बीमा दाबी परेको छ, जसमध्ये हालसम्म ५ अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेको बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणमा अद्यावधिक विवरण बुझाएका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमार्फत भुक्तानी प्रक्रिया अगाडि बढाइएको हो ।
तथ्याङ्कअनुसार, सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबी परेको छ, जसको दाबी रकम १९ अर्ब ५ करोड रुपैयाँ रहेको रहेकोमा हालसम्म ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ भुक्तनी भइसकेको छ । मोटर बीमातर्फ ३ अर्ब ४६ करोड १६ लाख रुपैयाँको २ हजार ३२१ वटा बीमा दाबी परेकोमा १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा बीमा दबीबाट करिब ५५ करोड ३९ लाखमध्ये करिब ८ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीबाट करिब १ करोड ६९ लाखमध्ये करिब १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिब ३८ करोड ४० लाख दाबी रकममध्ये करिब ५ करोड रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
३ अर्ब पुनर्बीमा दाबी भुक्तानी
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबी परेको जसको करिब १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।