लगानीमैत्री वातावरण नबन्दा निजी क्षेत्र अझै ढुक्क छैन : ढकाल

अनलाइनसमय |
१६ पुष २०८२
लगानीमैत्री वातावरण नबन्दा निजी क्षेत्र अझै ढुक्क छैन : ढकाल

काठमाडौं, १६ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि निश्चिन्त भएर लगानी गर्न सक्ने अवस्था निर्माण हुन नसकेको बताएका छन् । महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ कार्यक्रममा बोल्दै उनले सरकारसँग लगानी–मैत्री वातावरण बनाउन आग्रह गरेका हुन् ।

उनका अनुसार समृद्धि हासिल गर्न निजी क्षेत्रको संरक्षण र सम्मान अत्यावश्यक भए पनि नीति–व्यवहारमा त्यो विषय ओझेलमा परेको छ ।

ढकालले गलत काम गर्ने समूहमाथि कारबाही हुन नसक्दा दण्डहीनता बढ्ने खतरा भएको उल्लेख गरे । उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्वाध पेशा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महशुस नगर्दासम्म मुलुकमा लगानी हुँदैन,’ उनले भने, ’लगानी नभई रोजगारी हुँदैन, रोजगारी नभई आयस्तरमा सुधार हुँदैन,आयस्तर बढ्न सकेन भने मानव बिकासमा अपेक्षाकृत सुधार पनि हुन सक्दैन ।’

ढकालले पछिल्लो समय सरकार ठूलो घाटामा परेको र बैंकहरूमा लगानी योग्य पूँजी भए पनि निजी क्षेत्र उद्यम विस्तारमा हिच्किचाइरहेको बताए । पूर्वाधार निर्माणमा अवरोध हुँदा रोजगारी सिर्जना पनि प्रभावित भएको उनको धारणा छ ।

सरकारको सीमित रोजगार क्षमता र निजी क्षेत्र संकुचित हुँदा युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै उनले प्रश्न उठाए । ‘पछिल्लो डेढ वर्षदेखि सरकार करिब डेढ खर्ब रुपैयाँले घाटामा छ । बैंकहरू करिब ११ खर्ब रुपैयाँ लगानी गर्न तयार छन् । निजी क्षेत्र रकम लिएर उद्यम गर्न चाहँदैन । त्यसैले राजस्को रकमले कर्मचारीको तलब भत्ता पनि नपुग्ने अवस्था आएको छ । पूर्वाधारमा लगानी हुन सकेको छैन । निजी क्षेत्रले निर्माण गर्ने पूर्वाधारमा पनि विभिन्न बहाना बनाएर अवरोध हुने गरेको छ । पूर्वाधार निर्माण र उद्योग कल कारखाना भएनन् भने रोजगारी कसरी सम्भव होला ?’ उनले प्रश्न गरे, ‘स्वदेशमै रोजगारी दिने कल्पना कसरी सम्भव होला ? सरकारले वर्षको ३ हजारदेखि ३५ सय जनालाई मात्रै रोजगारी दिनसकेको छ । निजी क्षेत्र संकुचित हुँदा त्यहाँ पनि अवसर छैन । त्यसैले युवाहरू विदेशिन बाध्य छन् । विदेशमा पुगेर निजी व्यवसायमा नेपाली युवाहरु काम गर्न हुने हो भने नेपालमै निजी उद्योग तथा प्रतिष्ठानमा काम गर्न किन नहुने ?’

ढकालले राजनीतिक स्थायित्व र समयमै निर्वाचनको आवश्यकता जोड दिए । निजी क्षेत्रलाई सुरक्षित र सम्मानित वातावरण नदिए समृद्धि सम्भव नहुने बताउँदै उनले निजी क्षेत्र असफल भए त्यसको असर भावी पुस्तामासमेत पर्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस