काठमाडौं, १६ पुस । नेपाल राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । यसअघि पुस १४ मा राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरकै ऋणपत्र जारी गरेको थियो ।
यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । यसको ब्याजदरसमेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म तोकिएको छ ।
एक वर्षे अवधिको ‘कुल २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र धितो राखी कर्जा लिन दिन सकिनेछ । अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ ।